
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजाआजा सुरु हुने भएको छ। मुख्य पूजा भने भदौ ११ गते जनैपूर्णिमाको अघिल्लो दिन गर्ने परम्पराअनुसार हुने बताइएको छ। भक्तजन तथा पर्यटकको बढ्दो चापलाई व्यवस्थित गर्न नियमित पूजाआजा भने यस वर्ष अगावै सुरु गर्न लागिएको हो।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार पछिल्ला वर्षमा बडीमालिका दर्शन गर्ने तीर्थालुको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। मुख्य पूजाका दिन मात्रै अत्यधिक भीड हुने भएकाले भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजाआजा गर्ने वातावरण बनाउन भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने निर्णय गरिएको हो।
गत वर्ष बडीमालिकामा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। यस वर्ष पनि नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट ठूलो संख्यामा तीर्थालु तथा पर्यटक आउने अपेक्षा गरिएको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै मेला व्यवस्थापन, सुरक्षा तथा आवश्यक सेवाहरू प्रभावकारी बनाउने तयारीसमेत भइरहेको छ।


यसैबीच, मेला सुरु हुनुअघि बडीमालिका क्षेत्रमा सञ्चार सुविधा सहज बनाउन टेलिकम टावर स्थापना गर्ने काम भइरहेको छ। उच्च हिमाली क्षेत्रमा मोबाइल तथा सञ्चार सेवा विस्तार भएपछि तीर्थालु, स्थानीय तथा सुरक्षाकर्मीलाई समेत सहज हुने अपेक्षा गरिएको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ। पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।































