संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुँदै कञ्चनपुरकी स्वर्णिमा कँडेल

Image
Nisarga Hospital

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरकी स्वर्णिमा कँडेल संयुक्त राष्ट्रसंघको ८१औँ महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएकी छन्। उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत कँडेल युनिसेफ नेपालकी युवा अधिवक्तासमेत हुन्।

CP Hospital Dhangadhi

सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म न्यूयोर्कमा आयोजना हुने महासभाका क्रममा हुने विभिन्न कार्यक्रममा उनले युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने विद्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुअघि विद्यालयले बिहीबार विशेष कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरेको छ। उनी शुक्रबार बेलौरीबाट काठमाडौं हुँदै अमेरिका प्रस्थान गर्नेछिन्।

विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टका अनुसार स्वर्णिमाले बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। सोही सक्रियता र प्रतिबद्धताका आधारमा उनलाई युवा अधिवक्ताका रूपमा महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी गराउन लागिएको हो।

nawajiwan
Attariya Hospital

न्यूयोर्कमा रहँदा स्वर्णिमाले विभिन्न देशका युवासँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै साइड इभेन्टहरूमा आफ्ना अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्ने अवसर पाउनेछिन्। उनले बालबालिका तथा युवाका अधिकार, उनीहरूको कल्याण र किशोरी सशक्तीकरणका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राख्ने विद्यालयले जनाएको छ।

स्वर्णिमाको सहभागिताले बेलौरी क्षेत्रको शैक्षिक उपलब्धि तथा युवाको अन्तर्राष्ट्रिय सहभागितालाई समेत विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर मिल्ने विद्यालयको विश्वास छ। विद्यालयले उनको सहभागितालाई विद्यार्थीका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिएको जनाएको छ।