
डोटीः जोरायल गाउँपालिका–२, कालाबन निवासी जितबहादुर विष्टलाई श्री रामपुर माध्यमिक विद्यालयले सम्मान गरेको छ। स्वर्गीय बजिरसिंह विष्ट स्मृति छात्रवृत्ति अक्षयकोष स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयले विष्टलाई सम्मान गरेको हो।

विष्टसहित उनका परिवारका नौ जना दाजुभाइको संयुक्त आर्थिक सहयोगमा विद्यालयमा ५ लाख रुपैयाँको स्व. बजिरसिंह विष्ट स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ। अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति तथा आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।


विद्यालयले गत असोज २० गते आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा विष्टलाई सम्मान गर्दै शिक्षाको क्षेत्रमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको थियो। विद्यालयले अक्षयकोषले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
































