आइतबार सूर्यदेवको पूजा किन गरिन्छ? जान्नुहोस् धार्मिक महत्त्व र पूजाविधि

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सातै बारलाई विभिन्न देवीदेवताको उपासनासँग जोडेर हेर्ने गरिन्छ। त्यसमध्ये आइतबार सूर्यदेवको पूजा, आराधना र मन्त्रजपका लागि विशेष दिन मानिन्छ। सूर्यलाई प्रत्यक्ष दर्शन गर्न सकिने देवता तथा सम्पूर्ण जगत्लाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने देवताका रूपमा हिन्दू धर्ममा श्रद्धापूर्वक पुज्ने परम्परा छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यताअनुसार आइतबार विधिपूर्वक सूर्यदेवको पूजा गर्नाले मान–सम्मान, प्रतिष्ठा र आत्मविश्वास प्राप्त हुने विश्वास गरिन्छ। यस दिन सूर्यदेवको मन्त्र जप गर्दा जन्मकुण्डलीमा रहेको सूर्यदोषको प्रभाव कम हुने धार्मिक विश्वाससमेत प्रचलित छ।

यस्तो छ आइतबार सूर्यदेवको पूजाविधि

आइतबार बिहान सूर्योदयअघि उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्ने परम्परा छ। त्यसपछि सूर्यदेवको दर्शन गरी तामाको पात्रबाट शुद्ध जल अर्पण गरिन्छ। पूजा गर्दा रातो फूल, रातो चन्दन, अक्षता तथा गुड वा गुडबाट बनेका मिष्ठान्न चढाउने चलन छ। यस क्रममा सूर्यदेवको स्मरण गर्दै श्रद्धापूर्वक मन्त्रजप र प्रार्थना गर्न सकिन्छ।

सूर्यदेवको आराधनाका क्रममा ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जप गर्ने प्रचलन पनि छ। त्यस्तै, सूर्यदेवसँग सम्बन्धित वैदिक मन्त्रहरूको पाठ तथा आदित्यहृदय स्तोत्रको वाचनलाई पनि पुण्यदायी मानिन्छ।

धार्मिक आस्थाअनुसार श्रद्धा, भक्ति र शुद्ध मनले सूर्यदेवको उपासना गर्नाले जीवनमा सकारात्मक ऊर्जा, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।