चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा तीन दिन वर्षा र हिमपातको सम्भावना, धानबालीदेखि पदयात्रासम्म सतर्क रहन आग्रह

Image
Nisarga Hospital

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको आंशिक प्रभावले नेपालमा तीन दिनसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको चक्रवात क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको यो प्रणाली घटेर ‘भीषण चक्रवाती आँधी’मा झरेको छ। बिहीबार थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस प्रणालीको प्रभावले कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा नेपालतर्फ ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले वर्षा तथा हिमपातको सम्भावना बढेको हो। यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्नेछ।

सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै महाशाखाले किसानलाई कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न आग्रह गरेको छ। त्यस्तै, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी आवश्यक छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुने सम्भावना पनि छ।

महाशाखाले सर्वसाधारण, किसान, पर्यटक तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गर्दै मौसमसम्बन्धी आधिकारिक र अद्यावधिक सूचना नियमित रूपमा हेर्न अनुरोध गरेको छ।

Dhnagadhi & Krishanapur