गोली लागेर गम्भीर घाइते बाराका १५ वर्षीय आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजले गर्‍यो सम्पूर्ण उपचार निःशुल्क

Image
Nisarga Hospital

वीरगञ्जः बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्ज ल्याइएका उनको आकस्मिक शल्यक्रिया र सघन उपचारपछि स्वास्थ्यमा सुधार आएको हो। अस्पतालले उनको सम्पूर्ण उपचार निःशुल्क गरेको जनाएको छ।

CP Hospital Dhangadhi

२०८३ कात्तिक १४ गते बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई एक घण्टापछि अस्पताल पुर्‍याइएको थियो। अत्यधिक रक्तस्रावका कारण रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै गोलीले पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुर्‍याएको थियो। केही आन्द्रासमेत पेटबाहिर निस्किएका थिए।

पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाहसहितको टोलीले जटिल आकस्मिक शल्यक्रिया गरेको थियो। शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्रा पुनः जोड्ने, प्वाल मर्मत गर्ने, वैकल्पिक दिसा निष्कासन मार्ग बनाउने तथा दाहिने नितम्ब क्षेत्रमा रहेको गोली निकाल्ने काम सफलतापूर्वक गरिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शल्यक्रियापछि आईसीयूमा राखिएका आदित्यलाई रक्तचाप कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि, भेन्टिलेटर, चार युनिट रगत र दुई युनिट प्लाज्मा आवश्यक परेको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा निरन्तर उपचार गरिएको थियो।

अस्पतालले आकस्मिक उपचार, शल्यक्रिया, आईसीयू, औषधि, रगत, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।

थप विशेषज्ञ उपचारका लागि अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सम्बन्धित निकायसँग समन्वय गरिएको थियो। आफन्तको अनुरोधमा कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।

नोभेम्बर २ सम्मको पछिल्लो जानकारीअनुसार आदित्य भेन्टिलेटरमुक्त भएका छन्। उनी होसमा आएका छन् र मुखबाट खाना खान थालेका छन्। अहिले उनी त्रिवि शिक्षण अस्पतालमा थप उपचाररत छन्।

नेशनल मेडिकल कलेजले विशेषज्ञ उपचार, मानवीय सेवा र संस्थागत समन्वयमार्फत बालकको जीवनरक्षाका लागि आवश्यक भूमिका निर्वाह गरेको जनाएको छ। अस्पताल परिवारले आदित्यको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

Dhnagadhi & Krishanapur