
डोटी: जोरायल गाउँपालिकामा गाउँपालिकास्तरीय अन्तरवडा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

यहि कात्तिक १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता जोरायल गाउँपालिका–४ स्थित खेलग्राम मैदानमा हुने जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका टिमहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।




प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक १७ गते कार्यालय समयभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क तीन हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रत्येक टिममा बढीमा १५ जना खेलाडी र एक जना कोच वा व्यवस्थापक गरी १६ जना रहनसक्ने व्यवस्था गरिएको छ।
सहभागी खेलाडीले सम्बन्धित वडाको स्थायी बसोबास खुल्ने जन्मदर्ता, नेपाली नागरिकताको प्रमाणपत्र वा बसाइँसराइको प्रमाणपत्र पेस गर्नुपर्नेछ। कर्मचारीको हकमा कर्मचारी परिचयपत्र अनिवार्य गरिएको छ। टिम दर्ताका लागि वडा कार्यालयको आधिकारिक सिफारिस पत्र, खेलाडीहरूको नामावलीसहितको दर्ता फाराम तथा प्रत्येक खेलाडीको आवश्यक परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता FIFA/ANFA का नियम तथा आयोजक समितिले निर्धारण गरेका स्थानीय नियमअनुसार सञ्चालन हुनेछ।


































