
कैलालीको गोदावरी नगरपालिकाले सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी तथा लैङ्गिकमैत्री बनाउने उद्देश्यसहित ९ बुँदे सार्वजनिक प्रतिबद्धता जनाएको छ।

‘लैङ्गिकमैत्री नीति तथा बजेट निर्माण र गुणस्तरीय सेवा : सेवाग्राहीको अनुभव’ विषयक सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रममा नगरपालिकाले उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो।
‘लैङ्गिक समानताका लागि निर्णय लिने तथा जवाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडि पारिएका समूहहरूको क्षमता सुदृढीकरण परियोजना’ अन्तर्गत युरोपेली युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा निड्स नेपाल, प्रो पब्लिकलगायत साझेदार संस्थाले नगरपालिकासँगको समन्वयमा कार्यक्रम आयोजना गरेका हुन्।




कार्यक्रममा परियोजना संयोजक सरिता थापाले नगरपालिकाका विभिन्न वडाका ६० जना सेवाग्राहीलाई समेटेर गरिएको बहिर्गमन अभिमत सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। असोज र कात्तिकमा गरिएको सर्वेक्षणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरू सहभागी थिए। सर्वेक्षणमा सेवा प्रवाहको गुणस्तर, कर्मचारीको व्यवहार, सूचना, सेवाग्राहीको पहुँच तथा लैङ्गिक र अपाङ्गमैत्री पूर्वाधारबारे प्रतिक्रिया सङ्कलन गरिएको थियो।
नगरपालिकाले सार्वजनिक गरेको प्रतिबद्धतामा महिला, दलित, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि अद्यावधिक नागरिक बडापत्र र नागरिक सहायता डेस्क स्थापना गर्ने उल्लेख छ। त्यस्तै, लैङ्गिक हिंसा तथा विभेदबाट प्रभावितको पुनर्स्थापना र परामर्शका लागि नीति तथा बजेट व्यवस्था गर्ने र लक्षित वर्गको क्षमता विकास, आयआर्जन तथा रोजगारीका लागि कुल पुँजीगत बजेटको कम्तीमा ३ प्रतिशत विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ।
नीति निर्माणमा पछाडि पारिएका समुदाय र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र सूचनाको हकसम्बन्धी व्यवस्थाको पालना गर्ने पनि प्रतिबद्धतामा समेटिएको छ।
उक्त प्रतिबद्धता पत्रमा नगर उपप्रमुख शारदा देवी रोकाया र प्रमुख प्रशासकीय अधिकृत डा. श्रीधर गौतमलगायतले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सहभागीले सेवा प्रवाहसम्बन्धी जिज्ञासा तथा गुनासा राखेका थिए भने जनप्रतिनिधि र कर्मचारीले जवाफ दिएका थिए। उपप्रमुख रोकायाले नगरपालिकालाई थप पारदर्शी, उत्तरदायी र लैङ्गिकमैत्री बनाउँदै सबै समुदायको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।


































