
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ र २ मा रहेको अत्तरिया बजारमा चाडपर्वलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा करिब १ क्विन्टल अखाद्य मासु बरामद गरी नष्ट गरिएको छ।





गोदावरी नगरपालिकाले नगर उपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा अत्तरियाका करिब २० वटा होटल तथा मासुजन्य पसलमा अनुगमन गरेको हो। अनुगमन टोलीमा पशु सेवा शाखाका कर्मचारी, पशु चिकित्सक डा. निलम कुमारी महतो, नगर प्रहरी, मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी, पत्रकार तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा केही मासु पसलमा अव्यवस्थित रूपमा मासु भण्डारण गरिएको, एउटै फ्रिजमा विभिन्न प्रकारका काँचो मासु खुला अवस्थामा राखिएको र सरसफाइमा समेत लापरबाही गरिएको पाइएको छ। मासुको गुणस्तर, स्वच्छता तथा बिक्री वितरणको अवस्थाबारे निरीक्षण गर्दा उपभोगका लागि अनुपयुक्त मासु फेला परेपछि बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
अनुगमन टोलीले अत्तरियाका विभिन्न मासु पसलमा पुगेर सरसफाइ, स्वच्छता, मासुको गुणस्तर तथा बिक्री वितरणको अवस्थाबारे निरीक्षण गरेको थियो।
पशु चिकित्सक डा. निलम कुमारी महतोका अनुसार खाद्य स्वच्छता र मासुको उचित भण्डारणमा व्यवसायीले विशेष ध्यान दिन आवश्यक छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै उनले काँचो तथा विभिन्न प्रकृतिका मासु छुट्टाछुट्टै र उचित तापक्रममा सुरक्षित राख्नुपर्ने बताइन्।.
अनुगमनका क्रममा केही व्यवसायीले आवश्यक सुधार गरेको पाइए पनि धेरै पसलमा अझै सरसफाइ र स्वच्छतामा कमजोरी देखिएको पशु चिकित्सक डा. नीलम कुमारी महतोले बताइन्।
उनका अनुसार कतिपय मासु पसल दर्ता नै नगरी सञ्चालनमा रहेका छन् भने कतिपयले दर्ता गरे पनि नवीकरण गरेका छैनन्। स्थानीय तहमा लागू मासु निरीक्षणसम्बन्धी ऐन तथा कानुनी व्यवस्थाअनुसार सबै मासु पसल अनिवार्य रूपमा दर्ता हुनुपर्ने उनले स्पष्ट पारिन्।

अधिकांश मासु पसलमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले व्यवसायीलाई सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरिन्। साथै, आगामी दिनमा पसलभन्दा बाहिर खुला स्थानमा मासु काटेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइन्।
चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
मासु पसल सञ्चालन गर्ने व्यवसायीलाई स्वच्छता, गुणस्तर र कानुनी मापदण्ड पालना गर्न आग्रह गर्दै नगरपालिकाले उपभोक्तालाई पनि स्वस्थ र स्वच्छ मासु खरिद गर्न सचेत रहन आग्रह गरेको छ।





































