
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएको जंगली हात्तीमा रेडियो कलर जडान गर्ने काम सुरु भएको छ।

मंगलबारदेखि निकुञ्ज प्रशासनले प्राविधिकसहितको टोली परिचालन गरी ‘अपरेशन शुक्ला गजराज’ सुरु गरेको हो। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार बिहानदेखि हात्तीको खोजी तथा रेडियो कलर जडानको प्रयास भइरहेको छ। तर, हात्ती झाडीमा देखिए पनि डार्ट गर्न नसकिएको उनले बताए।
पुच्छर नभएको उक्त हात्तीले केही दिनयता मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर बालीनाली नष्ट गर्नुका साथै घरसमेत भत्काउँदै आएको छ। गत वर्ष यही हात्तीको आक्रमणबाट भीमदत्त नगरपालिका–१४ मा एक महिलाको मृत्यु भएको थियो।




रेडियो कलर जडानका लागि निकुञ्ज प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल र नेपाली सेनासहित ३० जनाको टोली परिचालन गरिएको छ। हात्तीलाई डार्ट गरी बेहोस बनाएपछि रेडियो कलर जडान गरिनेछ। त्यसपछि हात्तीको गतिविधि निरन्तर निगरानी गरिने र बस्तीमा प्रवेश गरी हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने निकुञ्जले जनाएको छ।


































