
धनगढी: सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा पहिलोपटक ‘सुरताल म्युजिक टुर–२०८३’ आयोजना हुने भएको छ।

चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको सहआयोजनामा आगामी मंसिर ४ गते धनगढीस्थित रंगशालामा सांगीतिक कार्यक्रम हुन लागेको हो।
‘अब गुन्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, प्रमोद खरेल, भाका नेपाल, परम्परा, दि फिरन्तेलगायत राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।




मंसिर ४ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पर्यटन झल्किने विशेष कार्यक्रमसमेत समावेश गरिनेछ।
चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका अध्यक्ष विवेककुमार नागरीले देशका विभिन्न स्थानमा सफलतापूर्वक आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पहिलोपटक सुदूरपश्चिममा ल्याउन लागिएको जानकारी दिए।
उनले यस कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन तथा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, पत्रकार, स्थानीय तह, व्यावसायिक संघसंस्था तथा आम दर्शकलाई सहयोग, सहकार्य र सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।


































