
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको सुनवलबाट यात्रु बोकेर सुपादेउराली दर्शनका लागि आएको लु २ ख ३७२ नम्बरको रिजर्भ बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीका अनुसार बसले सुरुमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको बस सडक छेउको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।




दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य घाइतेहरूको ठाडा प्राथमिक उपचार केन्द्रलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकलको पछाडि सवार एक पुरुषसमेत दुर्घटनामा परी घाइते भएका छन्। प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।



































