
अत्तरिया : सुदूरपश्चिम प्रदेशभर मुद्दा चल्ने प्रहरी कार्यालयहरूमध्ये कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले मुद्दा फछ्र्योटमा उत्कृष्ट कार्यसम्पादन गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरले गरेको अनुगमनका क्रममा मालाखेती प्रहरीको कार्यसम्पादन प्रशंसनीय पाइएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहद्वारा जारी सर्कुलरमा प्रदेशका अधिकांश प्रहरी कार्यालयमा गम्भीर तथा जघन्य प्रकृतिका पेन्डिङ मुद्दाको संख्या बढ्दै गएको उल्लेख छ। पटक–पटक पत्राचार र अनुगमन गर्दा पनि धेरैजसो कार्यालयमा अपेक्षित सुधार आउन नसकेको प्रदेश कार्यालयले जनाएको छ।
तर, गत कात्तिक १९ गते गरिएको अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थिक वर्षमा मात्रै गम्भीर तथा जघन्य प्रकृतिका ८ वटा पेन्डिङ मुद्दासहित कुल ११ वटा मुद्दा सफलतापूर्वक फछ्र्योट गरेको पाइएको छ।




अन्य प्रहरी कार्यालयको तुलनामा मालाखेतीको कार्यसम्पादन उत्कृष्ट देखिएपछि प्रदेश प्रहरी कार्यालयले प्रशंसा गरेको छ।
साथै प्रदेश कार्यालयले सुदूरपश्चिमका सबै मुद्दा चल्ने प्रहरी कार्यालयलाई मालाखेतीकै कार्यशैली अपनाउन र विशेषगरी गम्भीर तथा जघन्य प्रकृतिका पेन्डिङ मुद्दा फछ्र्योटमा सक्रियता बढाउन निर्देशन दिएको छ। प्रहरीले मुद्दा फछ्र्योट दर बढाउँदै समग्र कार्यसम्पादन सुधार गर्नुपर्नेमा समेत जोड दिइएको छ।



































