
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आयोजित पहिलो संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय मेयर कप बी लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम कुँवर र रोशन विष्टको जोडीले जितेको छ।

गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सम्पन्न प्रतियोगिताको आइतबार भएको फाइनलमा कुँवर र विष्टको जोडीले राजेश साउँद र नवीन सिंहको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै विजेता जोडीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता साउँद र सिंहको जोडीले ३१ हजार १११ रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ।




यसैगरी, सेमिफाइनलमा पराजित गणेश मिश्रा र भोजराज भट्ट तथा देवराज भट्ट र मनिराम चौधरीको जोडीले समान ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
विजेता खेलाडीलाई आयोजित औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। गोदावरी खेलकुद विकास मञ्चका अध्यक्ष तेज खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा नगरप्रमुख भट्टले अत्तरियामा प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिँदै नगरक्षेत्रमा ब्याडमिन्टनप्रति आकर्षण बढ्दै गएको बताए। उनले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न नगरपालिकाले प्रतियोगितामा सहयोग गरेको उल्लेख गरे।
मञ्चका अध्यक्ष खड्काले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यसले स्थानीय खेलाडीबीच आपसी सम्बन्ध र एकता बढाएको बताए।



































