
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज (बुधबार) देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाएर यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउन दिनभर कुनै बाधा छैन। तर शुभ साइतमा टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। यस वर्ष टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने समितिको सुझाव छ।
यमपञ्चकको पाँचौँ दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर विधिपूर्वक पूजा आराधना गर्ने, सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने चलन छ।




टीकापछि दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गरिन्छ। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार उपहार, कपडा तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
धार्मिक मान्यताअनुसार भाइटीकामा अष्टचिरञ्जीवी, यमराज र यमुनालगायत देवीदेवताको पूजा गरिन्छ। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सद्भावलाई थप प्रगाढ बनाउने यो पर्वले पारिवारिक एकता र सम्बन्धको महत्त्वसमेत उजागर गर्छ।



































