
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। आइतबार भएको लिग चरणको अन्तिम खेलमा पोखराले कीर्तिमानी ब्याटिङ र उत्कृष्ट बलिङ गर्दै काठमाडौंलाई हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो। यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च योगफल हो। पोखराका कुशल भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। अर्का ओपनर युवराज सिंह सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे। यी दुईले दोस्रो विकेटका लागि कीर्तिमानी १८६ रनको साझेदारी गरे।
२२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ ओभरमा १६९ रनमा समेटियो। उसका लागि साहिल पटेलले ३४, रासिद खानले ३१ र सोनु देवकोटाले २९ रन बनाए। पोखराका दिनेश खरेलले १८ रन खर्चेर ४ विकेट लिए भने विपिन खत्रीले ३ विकेट झारे।
यस जितसँगै पोखराले ७ खेलबाट ४ अंक जोड्दै सातौँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। उता ८ अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौंले अब बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ। लुम्बिनी लायन्स ११ अंकसहित पहिलो र सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रवेश गरेका छन्। उक्त खेल मंगलबार हुनेछ।





























