
अमेरिका र इजरायलले सैन्य संरचनामा व्यापक आक्रमण गरी क्षमता कमजोर बनाएको दाबी गरे पनि इरानसँग अझै ठूलो संख्यामा मिसाइल भण्डार रहेको अमेरिकी गुप्तचर निकायको आकलन छ। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नल का अनुसार इरानसँग अहिले पनि १ हजार ५०० देखि २ हजार ५०० वटासम्म मिसाइल रहेको अनुमान गरिएको छ। यसले युद्ध पुनः सुरु भए अमेरिका र उसका सहयोगीमाथि आक्रमण गर्ने क्षमता इरानसँग बाँकी रहेको संकेत गर्छ।

अमेरिकी तथा इजरायली आक्रमणबाट मिसाइल उत्पादन केन्द्रमा क्षति पुगे पनि इरानले भूमिगत भण्डारणमा रहेका पार्टपुर्जा प्रयोग गरेर उत्पादन जारी राखेको बताइएको छ। उत्पादनको गति घटे पनि उसले सैन्य क्षमता पुनः निर्माण गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ। इरानसँग ठूलो संख्यामा ड्रोन तथा छोटो दूरीका मिसाइलसमेत रहेको आकलन गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनभित्र इरानमाथि पुनः सैन्य आक्रमण गर्ने वा आर्थिक प्रतिबन्ध र नाकाबन्दीलाई निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने थप सैन्य कारबाहीको पक्षमा रहेको बताइएको छ।
इरानले यसअघि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा, रडार तथा पूर्वसूचना प्रणालीमा क्षति पुर्याएको थियो। खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूले पनि पुनः युद्ध सुरु भए आफूहरू जोखिममा पर्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।
अमेरिकी अधिकारीहरूले इरानको रक्षा उद्योग ध्वस्त भएको दाबी गरे पनि भूमिगत मिसाइल भण्डार र उत्पादन क्षमताबारे पूर्ण विवरण अझै स्पष्ट छैन। विज्ञहरूका अनुसार इरानको चुनौती मिसाइलको संख्यामा मात्र नभई ड्रोन र मिसाइललाई एकसाथ प्रयोग गर्ने तथा आक्रमणको रणनीति सुधार गर्ने क्षमतामा समेत रहेको छ।






























