बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने १७१ सवारीसाधन कारबाहीमा, एक महिनामा १ लाख ६९ हजार राजस्व संकलन

Image
Nisarga Hospital

बैतडीः ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्दा बैतडीमा एक महिनामै १ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले गत कात्तिक महिनामा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका १७१ वटा सवारीसाधनलाई कारबाही गर्दै उक्त राजस्व संकलन गरेको हो ।

CP Hospital Dhangadhi

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी जीप तथा कार रहेका छन् । १०५ वटा जीप तथा कारबाट १ लाख ८ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ । यस्तै, ३१ मोटरसाइकलबाट २६ हजार, १२ ट्रकबाट १५ हजार, ६ ट्र्याक्टरबाट ५ हजार ५००, ६ बसबाट ४ हजार ५०० र ११ वटा तीनपाङ्ग्रे अटोबाट ९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक यज्ञराज पन्तले ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा उक्त राजस्व संकलन भएको जानकारी दिए । उनका अनुसार क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, प्रयोजनविपरीत सवारी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लापरबाही गर्ने सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैबीच, कात्तिक महिनामा बैतडीमा पाँचवटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामध्ये दुईवटा चालकको कारण, दुईवटा सवारीसाधनको कारण र एउटा यात्रुको कारण भएको प्रारम्भिक विवरण छ ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाहीसँगै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि निगरानी तथा सचेतनामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेको छ ।