
दार्चुलाः चारैतिर चाँदीझैँ टल्किएका हिमाल, विशाल पाटन, निला ताल, हिमनदीबाट निस्किएका जलधारा र मनमोहक प्राकृतिक दृश्य। सुदूरपश्चिमको दार्चुलास्थित अपी हिमाल क्षेत्र प्रकृतिले दिएको अनुपम उपहार हो। प्राकृतिक सुन्दरता, जैविक विविधता, धार्मिक आस्था र मौलिक संस्कृतिले भरिपूर्ण यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। तर, जलवायु परिवर्तनका कारण यहाँको प्राकृतिक सम्पदा र स्थानीय जनजीवनमा चुनौतीसमेत थपिँदै गएको छ।

समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको अपी हिमाल सुदूरपश्चिमकै अग्लो हिमाल हो। करिब ३ हजार ९०० मिटर उचाइमा रहेको आधार शिविरबाट अपी, नाम्पा, कापुचुली र बबई हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। विशाल पाटन, निलो ताल, हिमनदी, दुर्लभ वनस्पति तथा प्राकृतिक जलधाराले यस क्षेत्रको आकर्षण बढाएका छन्।
मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि आधार शिविरसम्म पुग्न करिब दुई दिन पैदल यात्रा गर्नुपर्छ। मकरीगाडदेखि आधार शिविरसम्मको दूरी ३४ किलोमिटर रहेको छ। यात्राका क्रममा कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन अवलोकन गर्न सकिन्छ।
पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित अपी हिमाल गाउँपालिकाले विभिन्न योजना अघि बढाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। पर्यटनलाई स्थानीय रोजगारी र आम्दानीको आधार बनाउने योजनाअनुसार होमस्टे, यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाइएको छ।
मकरीगाडदेखि आधार शिविरसम्मका धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा होमस्टेको व्यवस्था गरिएको छ। तीनदेखि पाँच किलोमिटरको अन्तरमा रहेका होमस्टेले पदयात्रीलाई सहज बनाएका छन्। आधार शिविर क्षेत्रमा दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्टको व्यवस्थासमेत गरिएको छ।
स्थानीय मौलिकता, संस्कृति र आत्मीय आतिथ्य यहाँको अर्को विशेषता हो। होमस्टेमा फूलमालासहित स्वागत गर्ने, स्थानीय नाच प्रस्तुत गर्ने र मौलिक परिकार खुवाउने गरिन्छ। स्थानीय वेशभूषा, देउडा, लोकबाजा तथा परम्परागत ज्ञानले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।
यस क्षेत्रका पाटन स्थानीयको जीविकोपार्जनका लागि पनि महत्त्वपूर्ण छन्। यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी र जटामसीलगायत बहुमूल्य जडीबुटी यहाँ पाइन्छन्। भेडा, च्याङ्ग्रा र चौँरीपालनसमेत स्थानीयको परम्परागत पेसा हो।
तर, अपी हिमालको प्राकृतिक सुन्दरतासँगै जलवायु परिवर्तनको जोखिम पनि बढ्दै गएको छ। हिउँ पग्लिने क्रम तीव्र हुनु, पानीका मुहान सुक्दै जानु, अनियमित वर्षा र हिमपातले स्थानीय जनजीवन प्रभावित हुन थालेको छ। वातावरणविद् डा. रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको असर हिमालमा मात्र सीमित नभई स्थानीयको कृषि, पशुपालन र जडीबुटी सङ्कलनमा समेत देखिन थालेको छ। न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति यसको बढी जोखिममा रहेको उनको भनाइ छ।
करिब सात सयदेखि सात हजार मिटर उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्रको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण रहेको विज्ञहरूले बताएका छन्। नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन आवश्यक रहेको उनीहरूको सुझाव छ। अपिनाम्पा संरक्षण क्षेत्र रेडपाण्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता दुर्लभ वन्यजन्तुको बासस्थानसमेत हो।
यसैबीच, अपी हिमाल गाउँपालिकाले पर्यटन उत्सव तथा जलवायु संवाद आयोजना गर्दै ‘अपी हिमाल घोषणापत्र–२०८३’ जारी गरेको छ। चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासलाई अघि बढाउने उद्देश्यले घोषणापत्र जारी गरिएको हो। यसमा जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय संस्कृति प्रवर्द्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन, अनुसन्धान तथा नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन्।
घोषणापत्रले महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम र नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्यसमेत लिएको छ। हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल संरक्षण गर्ने तथा सुक्दै गएका पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
अपी हिमालको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न उच्च हिमाली खेलकुदलाई पनि पर्यटनसँग जोड्न थालिएको छ। गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगितासमेत सम्पन्न भएका छन्। उच्च हिमाली क्षेत्रमा खेलकुद गतिविधि सञ्चालन गर्दा स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेल पर्यटनको सम्भावना बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टको विश्वास छ।
अपी हिमाल क्षेत्रमा सञ्चार नेटवर्क र इन्टरनेटको पहुँच अझै चुनौतीका रूपमा रहेको गाउँपालिकाले जनाएको छ। सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्री, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासका कामसमेत अघि बढाइएको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, मौलिक संस्कृति र जैविक विविधताको धनी अपी हिमाललाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षण अपरिहार्य देखिएको छ। हिमाल, जलस्रोत र स्थानीय समुदायको जीवनशैली जोगाउन सके अपी हिमाल सुदूरपश्चिमको मात्र नभई नेपालको महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय पहिचान बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।




























