
एजेन्सीः युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसले करिब पाँच लाख सैनिक गुमाएको तथ्य रुसी सरकारी तथ्याङ्कबाटै बाहिरिएको छ। बीबीसीले विश्लेषण गरेको रुसी सरकारी तथ्याङ्क निकाय ‘रोसस्टाट’को विवरणअनुसार सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु भएदेखि हालसम्म कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको देखिएको छ।

बेलारुसी ह्याकर समूह ‘साइबर पार्टिसन्स बीवाई’ र युक्रेनी समूह ‘साइलेन्ट क्रो’ ले साइबर आक्रमण गरेपछि बीबीसी रसियनले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका एक करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा पहुँच पाएको थियो। रोसस्टाटले साइबर आक्रमण भएको स्वीकार गरे पनि सुरक्षित सूचनाहरू चुहावट नभएको दाबी गरेको छ।
स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’सँगको सहकार्यमा बीबीसीले खुला स्रोतबाट संकलन गरेको पुष्टि भएका सैनिक मृत्युको सूचीसँग सरकारी तथ्याङ्क तुलना गर्दा ९० प्रतिशत अभिलेख मेल खाएको पाइएको छ।
बीबीसीका अनुसार पुष्टि भएका २ लाख ९० हजार १२ मृत्युको सूची वास्तविक मृतक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्र हुन सक्ने सैन्य विज्ञहरूको अनुमान छ। यस आधारमा युद्धमा मारिएका रुसी सैनिकको वास्तविक सङ्ख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
तथ्याङ्कले युद्धको असर युवा पुस्तामा अत्यधिक परेको पनि देखाएको छ। सन् २०२५ मा रुसमा मृत्यु भएका १८ देखि २४ वर्ष उमेर समूहका युवामध्ये ६५ प्रतिशतको मृत्यु युद्धका कारण भएको थियो। त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहमा यो दर ५९ प्रतिशत रहेको छ।
युद्धमा रुसका गरिब पूर्वी साइबेरियाली क्षेत्रका पुरुष बढी प्रभावित भएका छन्। त्युभा, बुरियातिया र जाबायकाल्स्की क्राईका पुरुषको मृत्यु हुने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी देखिएको छ।
युक्रेनका १० वटा साना गाउँ नियन्त्रणमा लिने लडाइँमा मात्रै करिब २० हजार रुसी सैनिक मारिएको विवरणसमेत सार्वजनिक भएको छ। युद्धअघि ती गाउँमा करिब १२ हजार मानिस बसोबास गर्थे।
रुसका तर्फबाट युद्धमा सहभागी भएर ज्यान गुमाउने विदेशी नागरिकको सङ्ख्या कम्तीमा ५ हजार १७ रहेको बीबीसीले जनाएको छ। तीमध्ये १ हजार ३१ उज्बेकिस्तान र ७२० ताजिकिस्तानका नागरिक छन्।
यसैगरी, स्याटेलाइट तस्बिर र उत्तर कोरियामा निर्माण गरिएको स्मारकका आधिकारिक तस्बिर विश्लेषण गर्दै बीबीसीले सन् २०२४ मा युक्रेनको आक्रमण रोक्ने क्रममा २ हजार ३०४ उत्तर कोरियाली सैनिक मारिएको पहिचान गरेको छ।
यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाई २०२६ मा युद्धका क्रममा आफ्ना करिब ५० हजार सैनिक मारिएको बताएका थिए। तर, खुला स्रोतमा आधारित ‘यूए लसेस’ वेबसाइटले भने युक्रेनी सैनिकको मृत्यु सङ्ख्या १ लाख १५ हजार ९५२ उल्लेख गरेको छ। यसले युद्धमा दुवै पक्षले बेहोरेको मानवीय क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा सार्वजनिक हुन नसकेको देखाउँछ।



























