
डडेल्धुरा: डडेल्धुराको आलीताल गाउँपालिका–१ मालागाउँ र भोकागाउँका २४ परिवार चार वर्षदेखि अस्थायी टेन्टमा बस्न बाध्य भएका छन्। २०७९ सालको बर्खायाममा पहिरोका कारण विस्थापित भएका उनीहरूको अहिलेसम्म स्थायी पुनर्स्थापना हुन सकेको छैन।

बस्ती नै पहिरोको जोखिममा रहेको प्राविधिक अध्ययनले देखाएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष निकालिएको थियो। तर, सरकारी प्रक्रिया ढिलो हुँदा उनीहरू वर्षौंदेखि अस्थायी बसोबासमै सीमित छन्।
हिउँद सुरु भएसँगै चिसो बढे पनि जीर्ण टेन्टमै रात बिताउनुपरेको पहिरोपीडित देवी औजीले बताइन्। खानेपानी, शौचालय, विद्युत् र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाको अभावले दैनिक जीवन थप कष्टकर बनेको उनको भनाइ छ। स्थानीय दानबहादुर औजीले पनि पुनर्स्थापनाको आश्वासन पाएको लामो समय बित्दा समेत समस्या समाधान नभएको गुनासो गरे।
पहिरोपछि विभिन्न सरकारी निकाय तथा बहुउद्देश्यीय विकास समाज र रुडुकलगायत संस्थाले त्रिपाल तथा राहत सामग्री उपलब्ध गराएका थिए। तर, दीर्घकालीन व्यवस्थापन नहुँदा प्रभावित परिवारको समस्या यथावत् छ।
यता, डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाले २४ परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिएका छन्। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले पुनर्स्थापनाका लागि स्वीकृति दिएको उनले बताए। प्रशासनमा आधिकारिक पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ।



























