
डडेल्धुराको नवदुर्गा गाउँपालिकामा आयोजित अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवदुर्गा गाउँपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै परशुरामले उपाधि हात पारेको हो। उपाधिसँगै परशुरामले दुई लाख दुई हजार २२ रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा उपविजेता बनेको नवदुर्गा गाउँपालिका–१ ले एक लाख ५१ हजार ५१ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, तेस्रो स्थान हासिल गरेको आयोजक नवदुर्गा गाउँपालिकाको टोलीले ७७ हजार ७०७ रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
नवदुर्गा गाउँपालिका–१ स्थित चोरा खेलमैदानमा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास र खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



























