सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने भुवा पर्व एक माैलिक संस्कृति :

Image
Nisarga Hospital

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको छ । प्रज्ञा नेपाली बृहत शब्दकोशमा जेसुकै अर्थ लगाएकाेभएपनि र भुवाकाे विभिन्न अर्थ लागेपनि भुवा पर्वकाे हकमा भुवाकाे अर्थ ‘खरानी’ भन्ने हुन्छ । अर्थात मुडा बालेर आगाे ताप्ने र रमाइलाे गर्ने भन्ने हुन्छ । महाभारतको कथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई बाजुरा, बझाङका स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।

CP Hospital Dhangadhi

महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । काैरव र पाण्डवकाे युद्व समाप्ति पछि असत्यमाथि सत्यकाे विजय स्वरुप खुशीयालीमा प्राचीन कालदेखि याे पर्व मनाउन लागिएको जनश्रुति छ । आज सहकर्मी साथीहरूकाे भुवा पर्वकाे उपलक्ष्यमा हातमा तरबार र ढाल सहितकाे नाच देखेर पनि मनमा खुल्दुली जाग्याे । याे पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम र डाेटी जिल्लामामात्र सिमित रहेपनि आगामी दिनमा दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका लगायतका सबै जिल्लामा मनाउनु पर्दछ । यस पर्वले आपसमा भाइचारा, बन्धुत्व, संस्कृतहररूकाे जगेर्नागर्नमा मद्दत गर्नेछ ।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल लिएर नाचिने (Dance) यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीहरूमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । भुवाको सुरुको दिन राँके जुलुस निकालेर सबै जना एकै ठाउँमा जम्मा भएर रातभर गीत, मागल (मङ्गल कार्यमा गाइने गीत) गाउने प्रचलन छ । पञ्चेबाजाका साथ खेलिने भुवा पर्वको खेलमा पुरुषहरु हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने गर्दछन । सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट साँस्कृतिक पर्व ‘भुवा’ शुरु भएको छ । मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्त्व छ ।

nawajiwan

यो बाजुरामा निकै ताम झामका साथ मनाइन्छ । त्यस्तै डोटी, अछाम, बझाङ्ग र मध्य पश्चिमका विभीन्न जिल्लामा पनि यो पर्व हर्षोल्लासकासाथ मनाइन्छ । हाम्राे माैलिक संस्कृति, परम्परा अनेकतामा एकता र एकतामा अनेकता भएपनि सुदूरपश्चिमका सबै जिल्लामा यस्ता परम्परागत चाडपर्वहरू तथा संस्कृतिहरूकाे जगेर्ना गर्नु जरुरी छ । भुवा पर्व बाजुरा, अछाम, डाेटी लगायतका जिल्लामा धुमधामपूर्वक मनाइएपनि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लाहरूमा याे पर्वलाई खासै महत्त्व दिएकाे पाइदैन । यस्ता माैलिक पर्वहरूमा एकरुपता कायमगर्न सकेमा अझै परम्परागत पुरातन संस्कृति, रीतिरिवाज , चालचलनहरू, सामाजिक मूल्यमान्यताहरूकाे जगेर्नामा टेवा पुग्ने थियाे ।

पुसे औंसीको राति भुवाखाडो (आगन) मा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मिठो मसिनो खाना बनाएर खाइन्छ । मिठाे मसिनाे खाना भनेपछि सेलरोटी, पुताैका, बाबर, हलुवा, पुरी, साथै आजभाेली मांसमदिराकाे प्रचलन पनि बढ्दै गएकाे देखिन्छ । तर मांस मदिराकाे प्रचलन बढ्दै गएकाे भएपनि संस्कारी परिवारमाभने याे प्रवृत्तिलाई निरुत्साहित गरिएकाे छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गर्दछन् । ढाललाई कालो रङ्गले पोतिन्छ । तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।

द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो पटुकी जस्तो पहिरनुपर्छ र टाउकोमा पगरी बाँधिन्छ ।
दिउँसोको समयमा भुवाखाडोमा गएपछि त्यसको रौनक शुरु हुन्छ । बाजा–गाजा, लस्करहुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल–तरबार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ । बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै नायकेको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ । खेलमा २० वटाभन्दा बढी चाल वा लय र ६३ कवच हुन्छन् । यो पर्वमा छरछिमेकहरूले आ-आफनो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । यस पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउने जनविश्वास रहेकाे छ ।

Attariya Hospital

हातमा तरबार र ढाललिई सामूहिक रूपमा बाजागाजासहित घरघरमागई भोस्को (भुवा) खेल्दा घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएकाे छ । यति मात्र नभएर बाजागाजसहित नाचगानगर्दा शारीरिक तन्दुरुस्ती समेत प्राप्तहुने कुरामा विश्वस्त हुन सकिन्छ ।

प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले अनुशरण गर्दै आएको र हालसम्म चल्दै आएको बताइन्छ । राजा रजौटाहरूले आफ्ना भाइ भारदार लगायत प्रजाहरूलाई आत्मरक्षाका लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको जनविश्वास छ ।
लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने ‘भुवा’ पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ । पञ्चेबाजाका साथ खेलिने ‘भुवा’ पर्व बाजुरा लगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा धुमधामपूर्वक मनाउने प्रचलन छ ।

समग्रमा याे पर्वलाई जाडाे माैसममा आगाे ताप्दै बाजागाजा सहित रमाइलोगर्दै नाचगानगर्ने, खानाका मिठामिठा परिकार बनाएर खाने, दिदीबहिनी, इष्टमित्रहरूसँग भेटघाट, आत्मीयता गाँस्ने, एकआपसमा भाइचारा, बन्धुत्वकाे भावना कायमगर्ने पर्वकाे रुपमा लिन सकिन्छ । याे पर्वलाई सुदूरपश्चिमका सबै जिल्लामा एकरुपता कायमगर्नकाेलागि सँस्कृतिविद, समाजसेवी, शिक्षाविद लगायत राज्यपक्षबाटपनि जनचेतना जगाउनु जरुरी छ । अन्त्यमा भुवा पर्वकाे सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।

भुवा पर्वकाेबारेमा संक्षिप्त परिचय लेखिएपनि म स्वास्थ्य विज्ञानकाे विद्यार्थी भएकाे नाताले यस पर्वलाई स्वास्थ्यसँग जाेड्नु मेराे कर्तव्य सम्झेकाे छु । यस पर्वमा खाइने स्वादिष्ट तथा मिठा मिठा खानाका परिकारले शरीलाई आवश्यक पाेषक तत्व प्राप्तभई राेग प्रतिरोधात्मक क्षमता वृद्धिहुने, केही समयकाेलागि भएपनि साथीसङ्गी, इष्टमित्रहरूसँगकाे भेटघाट, नाचगान आदिले मानसिक थकान दूरभई चिन्ता (Anxiety), मानसिक विचलन/ तानव (Stress) बाट उन्मुक्ति पाइने, नाचगानले शरीरमा रक्तसञ्चार प्रक्रिया राम्राेहुने, मुटु, फाेक्साे, मृगौलाकाे कार्यक्षमता वृद्धिहुने, शरीरमा हर्माेन तथा प्रारस (Enzyme) हरूकाे सहि सन्तुलनभई उच्च रक्तचाप (Hypertension), मधुमेह (Diabetes Myellitus) काे राेकथाम तथा नियन्त्रण गर्न सकिन्छ । धन्यवाद !!!

मान सिंह धामी (भाैनबाटी)
मालिकनर्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला

Advertize US