
दशरथ भट्ट/धनगढीः सुदूरका तराई जिल्ला कैलाली र कञ्चनपुरमा बिगत २-३ हप्ता देखि चिसो ह्वात्तै बढेको छ। घाम देखिएको छैन। बाक्लो हुस्सु र शीतलहर परेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन्।

यहाँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५.० डिग्री सेल्सियस मापन गरिएको छ,चिसो बढेपछि अस्पतालहरुमा श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या लिएर आउनेहरु बढि रहेका छन् । सेती प्रादेशिक अस्पतालमा आउने बिरामीहरु मध्ये आधा भन्दा धेरै दम, निमोनीया, रुघाखोकी, ज्वरो, बाथ तथा पखालाका रहेको सूचना शाखाले जनाएको छ। यस्तै अरु अस्पलतालहरुमा पनि तुलनात्मक रुपमा चिसोबाट हुने बिभिन्न स्वास्थ्य समस्या लिएर आउनेहरु बढेका छन्। विशेषगरी बालबालिकामा कोल्ड डायरीया, निमुनीया, ज्वरो, रुघाखोकी, हाइपोथर्मीया जस्ता समस्या देखिएको छ।
चिसो बढेपछि जिल्लाका मुख्य बजारका साथै सहायक बजारहरुको चहलपहल पनि घटेको छ। धनगढी, अत्तरिया, महेन्द्रनगर साथै सहायक बजार तथा सडक पेटीहरुमा मानिसहरु कमै देखिन्छन्। होटल तथा चिया पसलमा फाट्टफुट्ट मानिसहरुको जमघट देखिए पनि अन्य क्षेत्रको व्यापार व्यवसाय घटेको सम्बन्धित व्यापारीहरु बताउँछन्।




सडकमा सवारीसाधनको चाप कम छ। सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीहरुको चहलपहल घटेको छ। जाडो छल्न मानिसहरु चोक चौराहामा दाउरा तथा घुर्यान बालेर आगो तापेका भेटिन्छन्।



































