
धनगढी : पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो। बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अभिनन्दन गरिने आयोजकले जानकारी दिएको हो ।

अभिनन्दनको तयारीका लागि समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा दुई सय ५१ सदस्यीय नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको छ। चन्दलाई धनगढीको पार्कमोडदेखि चटकपुरसम्म परम्परागत झाँकीसहित रथारोहण गराएर चटकपुरस्थित सौराइ पार्टी प्यालेसमा अभिनन्दन गरिने समितिले जनाएको छ।
समारोह समितिका संयोजक भट्टले राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा पूर्वप्रधानमन्त्री चन्दले पु¥याएको उच्च योगदानको कदरस्वरुप सम्मान गर्न लागिएको बताए। अभिनन्दनले नयाँ पुस्तालाई अग्रजले गरेको योगदानबारे जानकारी गराई देश सेवा र साहित्यप्रति अभिप्रेरित गराउने भट्टले बताए। ‘यसै क्षेत्रमा जन्मिएर चारपटक देशको प्रधानमन्त्री बन्नुभएका सालिन, भद्र र निस्कलङ्क राजनेताको छवि बनाउनु भएको छ । उहाँ नेपाली साहित्यको मुर्धन्य साहित्यकार हो’ अभिनन्दनबारे जानकारी दिन धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले भने, ‘उहाँको ८४ औ बसन्तपुजनको स्वर्णीम अवसर पारेर अभिनन्दन गर्न लागेका हौँ।’




सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मिएका चन्द चार पटक देशको प्रधानमन्त्री बनेका थिए। मदन पुरस्कार विजेता चन्दका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्।


































