
अत्तरिया : नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि बिहीबार दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान अझै सुरू हुन सकेको छैन् ।

निर्वाचन कमिटीले बिहीबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यसूची तोकेको थियो तर साढे ३ बज्दा समेत मतदान अघि बढेको छैन । निर्वाचन कमिटीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन तर मतपत्र छाप्ने काम भइरहेको भन्दै केही समय लाग्ने जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोरा भने सम्पर्कविहीन भएका छन् । उनको प्रतिक्रिया लिन पटक-पटक सम्पर्क गर्दा समेत उठाएका छैनन् ।




फागुन ६ गते केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन गरेर टुंगो लगाउन निर्देशन दिएर गएका थिए तर अधिवेशन सुरू भएको पाँच दिन बित्दा समेत मतदानको प्रक्रिया अझै अनिश्चित छ ।
एमालेको नेतृत्वका लागि अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका छन् । तर पाँचौ दिनसम्म समेत मतदान प्रक्रिया सुरू नभएपछि अधिवेशन प्रतिनिधि रणभुल्ल परेका छन् भने उनीहरूले चाडो मतदान गर्नुपर्ने माग गरेका छन् ।


































