
बैतडी:बैतडीमा यही फागुन १६ देखी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ।
‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुन लागेकाे हाे।

अन्य जिल्लाहरूमा १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोप प्रभावित हुने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताउनुभयाे।
जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हुने छ भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन हुनेछ।
बैतडीमा ९ महिनादेखी ५ वर्ष उमेर समूहका २१ हजार ३ सय २४ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।




जिल्लाका ३ सय ६२ वटा खोपकेन्द्रमार्फत खोप लगाइने छ। खोप कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेवी र स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। दादुरा- रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुनेछन्।
दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ।


































