
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका एक थप मन्त्रीलाई शपथ गराए लगत्तै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन्। आज साढे ५ बजे प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेश सरकारमा बिना बिभागिय मन्त्रीका रुपमा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

शपथग्रहण सकिएर सभाहलबाट बाहिरिनेबित्तिकै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको निर्णय संघीय मन्त्रिपरिषद् बैठकबाट गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारलाई विस्तार गर्ने क्रम मुख्यमन्त्री कमलबहादुर शाहले जारी राखेका छन्। केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदलाई मन्त्री बनाइँदै गत शुक्रवार मुख्यमन्त्री शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए। प्रदेशमा सात सांसद रहेको नागरिक उन्मुक्तिका यस अघि नै चार जना मन्त्री छन्। शाहले सोमबार पुनः कैलाली निर्वाचन क्षेत्र नम्बर १ (ख) का सांसद लक्ष्मण किशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्। यसअघि शुक्रवार उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए। सोही पार्टीबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका थिए। लक्ष्मण किशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा उन्मुक्तिबाट मन्त्री हुनेको सङ्ख्या पाँच पुगेको हो।
मुख्यमन्त्री शाह बहुमत पुर्या्उनकै लागि कसरत गरिरहेका छन् तर उनलाई उन्मुक्तिले साथ दिएर मात्र बहुमत पुग्ने छैन। उनले राप्रपा र एक स्वतन्त्र सांसदलाई समेत साथमा लिनुपर्ने छ।




























