
अत्तरिया : सुदूरपश्चिमका एमालेका पुराना नेता डिल्लीराज भट्ट गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका छन । सरकारले आज (सोमबार) गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको हो ।

भट्ट डोटीका पुराना नेता हुन् र उनी नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए । हाल डिल्लीराज भट्ट धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि बस्दै आएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।




उनले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौं पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिक रूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोेण समान होस् भनेर हामीले यस्तो गरेका हौं ।’


































