
धनगढीः मङ्गलवार धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर धनगढी उपमहानगरपालिका–६ घर भएका गणेश रानाले विष सेवन गरेका छन्।

कैलाली जग्गा तथा आवास विकास संघको तदर्थ समिति सदस्य रहेका रानाले मङ्गलवार विष सेवन गरे पनि उनले गत शुक्रवार राति ९ः३४ मा नगर प्रमुख गोपाल हमाललाई धम्कीपूर्ण म्यासेज पठाएका थिए। त्यसपछि नगरप्रमुख हमालले सुरक्षाको माग गर्दै सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका थिए। शुक्रवार राति धम्कीपूर्ण म्यासेज गरेका राना आइतवार तालाबन्दी गर्न आउनेहरूको भिडमा अरुकोभन्दा बढी सक्रिय देखिएका छन्। त्यो दिन रानासहितका जग्गा कारोबारीहरूले नगरपालिकाको प्रवेशद्वारमा ताला नै लगाएका थिए। त्यो ताला भने नगर प्रहरीले तत्काल फुटाएको थियो।
रानाले शुक्रवार धम्की दिनु र आइतवार जग्गा कारोबारीले नगरपालिका घेर्न आउनु पछाडिको कारण जग्गा कारोबारीले सर्वोच्च अदालतमा दिएको मुद्दाको पेसी भदौ २३ गतेका लागि सर्नु रहेको उपमहानगरको तर्क छ। मुद्दाको पेसी पाँच महिना पछाडि सरेपछि रानालाई मोहरा बनाएर नगर प्रमुख हमाललाई गलाउने चाल चालिएको छ।

गत मंसिरमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० पारित गरेको र सो कार्यविधिमा नयाँ प्लटिङ्गमा १० मिटर चौडा सडक हुनुपर्ने तथा प्लटिङ जग्गाको ५ प्रतिशत जमिन सार्वजनिक प्रयोगका लागि राख्नुपर्ने प्रावधानको जग्गा कारोबारीले विरोध गर्दै आएका छन्। कार्यविधि राजपत्रमा प्रकाशित हुना साथ उक्त प्रावधानको विरोधमा धनगढीका जग्गा कारोबारी आन्दोलित भएका थिए।

धनगढीका जग्गा कारोबारीले गत माघ १० मा उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। जग्गा कारोबारी उमेश गिरीले उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्। जग्गा कारोबारीले धनगढी उपमहानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
कार्यविधि विरुद्ध सर्वोच्च अदालतबाट स्टेअर्डर पाउने अपेक्षासहित मुद्दा दर्ता गरेका जग्गा कारोबारीले स्टेअर्डर नपाएपछि रन्थनिएर नगरप्रमुख विरुद्ध कदम चालेको देखिएको छ। विष सेवन गरेर सेती प्रादेशिक अस्पतालमा उपचाररत गणेश रानाले गत शुक्रवार राति ९ बजेर ३४ मिनेटमा नगरप्रमुख हमाललाई ह्वाटसपमा धम्कीपूर्ण सन्देश पठाएका हुन्। सर्वोच्च अदालतबाट राहत पाउने आशामा रहेका जग्गा कारोबारीले स्टेअर्डर नपाएर हैरान भएको बेला गत शुक्रवार नै सर्वोच्चले मुद्दाको पेसी २०८१ को भदौ २३ गतेको लागि सारेपछि उनीहरू थप आक्रोशित हुँदै धम्की दिने, नगरपालिका घेराउ गर्ने र तालाबन्दी गर्न पुगेको भिडियोमा देखिएको छ।
तालाबन्दी र नगरपालिका घेराउपछि नगरप्रमुख हमाललाई गलाउन जग्गा कारोबारीहरूले रानालाई नगरपालिकाभित्र गएर विष सेवन गर्न उक्साएको हुन सक्ने घटनाक्रमले देखाएको छ। सर्वोच्चमा कार्यविधि विरुद्ध मुद्दा हालेर संशोधन र संवादको बाटो बन्द गरेका जग्गा कारोबारीले नगरप्रमुख हमाललाई गलाउन नगर प्रहरीले रानालाई पक्राउ गरेर विष सेवन गराएको आरोप नै लगाएका छन्। विभिन्न सञ्चार माध्यमा बोल्दै उनीहरूले नगरप्रमुख हमालको निर्देशनमा रानालाई नगर प्रहरीले विष सेवन गराएर अस्पताल भर्ना गरेको दाबी गरेका छन्। तर, उपमहानगरपालिकाले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा रानाले कार्यपालिका भवनभित्र पस्दै गरेको अवस्थामा विष सेवन गर्न लागेको देखिएको छ।





























