
अत्तरिया: गोदावरी नगरपालिका–५ गेटमा रहेको विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारी संस्थाकी अध्यक्ष खिमादेवी ओझाको सभापतित्वमा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिईन् ।

प्रमुख अतिथि देवकोटाले सहकारीलाई नीति र विधि अनुसार सञ्चालन गर्नुपर्ने बताइन । उनले सहकारीको व्यवस्थापन र सिस्टमका लागि विधि र नीति आवश्यक रहेको बताईन । उनले नीति र नियमावलीको अधिनम रहेर काम गर्न सके सहकारीलाई उत्कृष्ट बनाउन सकिने बताईन ।
उनले विश्वज्योतिले प्राविधिक काम गर्नुपर्ने भएकाले नै सहकारीको साधारण सभा केही ढिला हुन गएको बताईन । उनले सहकारीको बारेमा फैलिरहेका भ्रमका विषयमा हो–हल्लाकोपछि नलागेर स्वयम् आफु जानकार बन्न आवश्यक रहन आवश्यक रहेको बताईन ।
सहकारी संस्था के गरिरहेको छ भन्ने कुरामा आफु सक्रिय बन्नुपर्ने उनको भनाई रहेको छ । ‘यो सुदूरपश्चिम प्रदेशभरी नै बचतकर्ताको रकम खाएर भाग्ने सहकारीहरु छैनन् । तर बाहिरबाट आएका सहकारीका कारण यहाँका सहकारीहरु पनि समस्यामा परेका छन’ उनले भनिन् ‘तसर्थ त्यस्ता सहकारीका कारण आफ्नो सहकारीलाई डुबाउने काम गर्न हुदैन, हल्लाकोपछि लागेर भन्दा पनि स्वयम् सहकारीका बारेमा जानकार भएर काम गर्नुपर्छ ।’ उनले विगतमा रुखको छहारीमा बसेर सानो पुँजीबाट सञ्चालन गरेका सहकारीहरु अहिले आएर उत्कृष्ट बनेका समेत बताईन ।
आफ्नो जिम्मेवारी आफैले निर्वाह गर्न सके अवश्य पनि सहकारीहरुले राम्रो प्रतिफल दिन सक्ने उनको भनाई छ । उनले सहकारीलाई माथि उकास्न सदस्यहरुको नै मुख्य हात रहने र त्यसका लागि सहकारीबाट लगेको ऋणको सही सदुपयोग गरेर सहकारीको ऋण र ब्याज फिर्ता गर्न सक्नुपर्ने बताईन । उनले सहकारी र सदस्यको सम्बन्ध राम्रो भए दुवैलाई फाईदा हुने बताईन ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओझाले २०५८ सालदेखि टोल–टोलमा सान साना समुहहरु र महिला विकास धनगढीको सहयोगबाट गठन गरिएको बताईन । पहिलो पटक जम्मा ८० जना सदस्यहरु मिलेर साना–साना समूहलाई संगठित गर्दै स्थापना गरिएको यस सहकारी संस्थामा हाल आएर १ हजार ९५ जना शेयर सदस्यहरु आबद्ध रहेको उनले बताईन् । उनले संस्थाले आर्थिक प्रगती (आय–ब्यय ) प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷०८० मसान्त सम्म आइपुग्दा ८ करोड ८० लाख ७४ हजार ८ सय २० रुपैयाँको आर्थिक कारोबार गरेको साथै उक्त कारोबारबाट संस्थाले ११ लाख ९६ हजार २ सय रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बताइन् ।
प्रतिवेदन अनुसार सुरुमा ३५ हजार शेयर पूंजी बाट संचालनमा ल्याइएको संस्थामा हाल २०८० मसान्त सम्ममा १ करोड ४५ लाख १४ हजार बराबरको शेयर पुँजी रहेको छ । त्यस्तै आ व २०७९÷०८० मा संस्था ले बचत तर्फ ५ करोड ७८ लाख ६५ हजार रकम बराबरको निक्षेप संकलन गरेको छ भने कर्जा तर्फ ६ करोड ८९ लाख ७२ हजार रुपैयाँ बराबरको ऋण लगानी गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बाल बचतकर्ता, शेयर वृद्धिकर्ता, गत वर्षको उत्कृष्ट मासिक बचत कर्ता, उत्कृष्ट ऋणी तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव लक्ष्मी भट्टलले गरेकी हुन् । सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

























