‌ भ्रस्टाचारको मामिलामा सत्तापक्ष र प्रतिपक्ष

Image
Nisarga Hospital

‌नेपाली राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष दुबैले एक अर्कालाई भ्रष्ट भन्दै आरोप लगाउने काम निरन्तर चलि आएको छ । विगत ८० बर्ष लाई सरसर्ती हेर्दा त्यो श्रृङ्खला निरन्तर चलि आएको देखिन्छ । तर विडम्बना सत्तामा भएको पार्टीलाई प्रतिपक्षीले आरोप लगाउछ पुन:आफु सत्तामा पुग्दा आफैले भ्रष्ट भनेको लाई कुनै कारबाही गर्न सक्दैन ।

CP Hospital Dhangadhi

विगतमा राणा शासकहरूलाई लागाइने मध्येको एउटा संगिन आरोप राणाहरूले भ्रष्टाचार गरे र राणाहरू भ्रष्ट छन भन्ने थियो । वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि सर्वप्रथम गठन भएको राणा – काङ्ग्रेस मन्त्रिपरिषद्को बागडोर मोहन शमशेर जङ्गबहादुर राणाले सम्हालेका थिए। तर पछि तिनै राणाहरुको मन्त्री मण्डलमा काङ्ग्रेस सहभागी भए पनि पुराना आरोपहरु आरोपमा मात्रै सिमित रहे । पछि राणाहरूलाई भ्रष्टाचारको आरोप लगाएर राजनीतिमा उदाएको काङ्ग्रेसले राणाहरूलाई कहिल्यै भ्रष्टाचारी प्रमाणित गर्न सकेन र भ्रष्टाचारमा कुनै पनि राणा शासकहरूलाई कारवाही हुन सकेन ।

वि.स.२००७ सालमा राणाहरु लाई भ्रष्टाचारको आरोप लगाएको काङ्ग्रेस २०१५ मा चुनाव जितेरै सत्तामा पुग्यो ।तर त्यतिबेला स्वयं काङ्ग्रेस लाई नै भ्रष्टाचारको आरोप लाग्यो लगाइयो । राजा महेन्द्रले सत्ता लिदा काङ्ग्रेस सरकारलाई लगाएका विभिन्न आरोप मध्ये महत्वपुर्ण आरोप भ्रष्टाचार पनि थियो । राजा महेन्द्रकै प्रत्यक्ष शासन कालमा पनि काङ्ग्रेस माथि भ्रष्टाचारको आरोप पुष्टि गरि कुनै कारवाही भएन । बरु त्यसको सट्टा काङ्ग्रेस नेताहरूलाई अन्य राजनीतिक मुद्दा लागाइए ।

पछि पंचायती व्यवस्थाको विरुद्ध आन्दोलन गर्दा राजनैतिक दलहरूले राजालाई लगाएका विभिन्न आरोप मध्ये महत्वपुर्ण आरोप राजाले भ्रस्टाचार गरे भन्ने नै थियो। यति मात्र नभई उक्त व्यवस्थामा व्यापक भ्रस्टाचार छ। पंचहरु भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएका छ्न । अझै राजपरिवार र राजाले समेत बिदेशी बैंक मा कालोधन थुपारेका छ्न जस्ता अनेकौ आरोपहरू लगाईएका थिए । तर बहुदलीय व्यवस्था पश्चात गठन भएका कुनै पनि सरकारले राजा , राजपरिवार मात्रै नभई त्यतिबेलाका कुनैपनी पञ्चलाई भ्रष्टाचारी प्रमाणित गर्न सकेनन र कारबाही समेत गर्न सकेनन । बरु त्यसको साटो पालैपालो तिनै भ्रष्ट भनिएका पञ्च मध्येकालाई काङ्ग्रेस एमालेले पालैपालो प्रधानमन्त्री बनाएर सत्तामा पुर्याए ।

पुर्व पञ्च ,काङ्ग्रेस र एमाले सबै भ्रस्टाचारको आहालमा डुबेका छ्न भन्ने एउटा आरोप सहित माओवादी हिंसात्मक कारबाहीमा उत्रियो । त्यही कालखण्डमा राजनीतिक दल र नेताहरू भ्रष्ट भएकोले आफुले सुशासन दिन्छु भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हितमा लिएर प्रत्यक्ष शासन सम्हाल्न पुगे । राजा ज्ञानेन्द्रको त्यो कदम प्रतिसोध थियो वा के थियो ? भन्ने भोली भविष्यले जवाफ पक्कै खोज्नेछ । उनले दलका केही नेताहरू लाई भ्रष्टाचार कै आरोपमा जेल समेत पठाए । ( यो एउटा अपवाद को घटना थियो )

राजाले भ्रष्टाचारी भनी जेल हालेका र माओवादीले पनि भ्रष्टाचारी नै भनेका काङ्ग्रेस एमाले सहितका दलहरू र माओवादी समेतको समर्थनमा राजा हटाउन वि.स.o६२/६३ को आन्दोलन भयो । उक्त आन्दोलन सफल भएर दलहरूले सत्ता लिएपछि पनि राजाको पालामा भएको भनिएको भ्रस्टाचार बारे कुनै कार्वाही भएन।

पछिल्लो समय वि.स.२०७२ मा नयाँ संविधान जारी भए पश्चात वि.स.२०७४ को चुनावमा पनि दलहरूले एक अर्कालाई भ्रष्टाचारी भनि नै रहे तर आफैले भ्रष्टाचारी भनेका दलहरू संगै सत्ता चलाउन पनि कोहि छुटेका छैनन ।जुन कुरा राजनैतिक दलहरूको विशेषता जस्तै भएको छ ।

वि.स. २०७९ को चुनावी प्रचारमा काङ्ग्रेस माओवादीले एमालेलाई यति ,ओम्नी , बतास काण्ड गरेको भनी भ्रष्टाचारको आरोप लगायो भने एमालेले बाइड्बडी, बालुवाटार , क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको आरोप लगायो ।पुराना सबैलाई तिनै आरोप लगाएर रास्वपा, जनमत र नाउपा नामक नयाँ पार्टीहरूको उदय भयो । तर ती पार्टीहरू पनि चुनावी परिणाम आए लगत्तै पुरानै पार्टीहरू संग मिलेर सरकारमा सहभागी भए। त्यस पछि ति राजनैतिक दलहरू माथि पनि नयाँ तथा पुराना भ्रष्टाचारका काण्ड र आरोपहरू उदाङ्गीए ।

पछिल्लो समय फलानो दल संबद्ध नेता भ्रष्टाचारी हामी तिनको फाइल खोल्छौ भन्ने प्रचारवाजी निकै चलेको छ। तर बाडीचुडी खाने बेला सम्म चुपचाप रहने र भाग नमिल्दा आफु चोखो र अरुलाई भ्रष्ट देखाउने काम नेपालको राजनीतिको रोग जस्तै भएको छ। यो निकै पुरानो रोगका रूपमा श्रृङ्खलाबद्ध रूपमा चलि आएको छ । तर आफू सत्तामा हुँदा भ्रष्टाचार गरेकोमा कोही कसैले कोही कसैले कुनै कार्वाही गर्दैनन । बरु प्रक्रियागत रुपमा आएका कुनै मुद्दामा अघि बढेका कारवाही लाई मैले गरे भनी प्रचारवाजी गर्ने काम गरिएको छ ।

दलहरूले आफु सत्तामा हुँदा सबै भ्रस्टाचारका त के आफैले विपक्षीलाई लगाएका आरोपमा पनि छानबिन अगाडी बढाएनन। काङ्ग्रेस माओवादी गठबन्धन हुँदा एमालेलाई भ्रष्टाचार गर्यो भन्दै आरोप लगाइएका यति ओम्नी, बतास काण्ड बारे काङ्ग्रेस र माओवादीको गठबन्धनको सरकार हुँदा छानबिन हुनुपर्ने थियो । तर त्यसमा कुनै कार्वाही भएन केबल धम्क्याउने कुरा मात्रै भए बरु पशुपतिमा जलहरी चढाउने बेला भ्रस्टाचार भएको भनी थप आरोप लगाए जुन आरोप पुष्टि हुन सकेन। आरोप प्रत्यारोप चलिरहेकै बेला एमाले माओवादी र रास्वपा को सरकार बन्यो । बिपक्षी काङ्ग्रेसले रास्वपाका सभापती रबि लामिछानेलाई सहकारी ठगको आरोप लगायो भने केपि ओलीलाई गिरिबन्धु टि स्टेटमा भ्रष्टाचार गरेको आरोप लगायो । रबिले त्यसको जवाफमा काङ्ग्रेस नेताहरूलाई सूचना बेचेको, घडी चोरेको, र रातोपासपोर्ट बेचेको आरोप लगायो भने आफ्नो पार्टी ,एमाले र माओवादी का कुनै काण्डबारे चुईक्क बोल्न सकेनन । ,माओवादी सत्ता साझेदार एमाले रास्वपा र आफना काण्डमा चुप थियो । भने ओलीले गोरिबन्धुमा काङ्ग्रेसले नै भ्रस्टाचार गरेको जवाफ फर्काइ रहे । यसमा एमाले काङ्ग्रेसको जुहारी चली रह्यो भने रबि र प्रचण्ड चुप रहे । यसैबीच एमाले काङ्ग्रेस सरकार बन्यो । यो बन्नुमा दुबैपक्षका आआफ्नै दाबी रहे तर दुबैलाइ प्रश्नको घेरा भन्दा टाढा भने राखेको छैन ।

यि सबै घट्नाक्रमले आज सत्तामा रहेका काङ्ग्रेस एमालेलाई हिजो गिरिबन्धु बारे एकले अर्कालाई लगाएका आरोप बारेको बास्तबिकता के हो? काङ्ग्रेसले भ्रष्टाचार गरेको हो वा एमालेले गरेको हो वा दुबै पार्टीको संलग्नतामा भ्रष्टाचार गरिएको हो ? यी दुबै पार्टीले हामी जनतालाई भ्रमित पार्न मात्रै विगतमा एकले अर्कालाई आरोपहरू लगाईएका हुन ? भन्ने जबरजस्त प्रश्न हिजो सिर्जना भएको छ । यति मात्रै नभई यि दुबै पार्टीहरू आफैले एक अर्कालाई भ्रष्ट भनिएका संग किन मिलियो । अब ती सार्वजनिक गरिएका काण्डहरूमा छानबिन हुन्छ कि हुदैन ? भएन भने जनताले एमाले र काङ्ग्रेसलाई कसरी बुझ्ने ? भन्ने जस्तो आम प्रश्न सिर्जना भएको छ ।जसको उत्तर यी दुबै पार्टीले जनतालाई खुलस्त ढङ्गबाट दिनुपर्ने हुन्थ्यो । तर नेपाली राजनीतिमा आफ्नो पार्टी जोगाउन र आफ्नो अस्तित्व जोगाउनका लागि अरूलाई भिडाईने र मिथ्या लगाईने आधार बिहिन आरोपहरूले नेपली राजनीति गन्हाएको छ ।

एमाले काङ्ग्रेस मात्र नभई माओवादी र रास्वपा लाई समेत केहि प्रश्नहरू उठेका छन् ।

सत्ता छोडनु परेपछि हामीले फायल खोल्दै थियौ भन्ने हरु हिजो आफैले भ्रष्टाचारी भनेका हरु संग किन मिले , र सत्ता मा हुन्जेल किन ती बिषयमा चुप बसे र बाहिर आएपछि ठुलाकुरा गरिरहेका छ्न ? जनताले यीनको राजनीतिलाई कसरी बुझ्ने ? भन्ने प्रश्न उठान भएको छ ।

भ्रष्टाचारको आरोप आरोपका लागि मात्रै लगाईने र आफु सत्तामा पुग्न वा पुगेपछि ती आरोपहरूलाई सहजै स्विकार गर्दै चोख्याईने नेपाली राजनीतिको पृथक प्रवृत्तीले प्रतिपक्षी दल र सत्तासिन दल को ठिक वा को बेठिक भन्ने छुट्याउन गाह्रो मात्रै नभई दुबै बेठिक र दुबै बेईमान हुन भन्ने शंकाको सुविधा समेत जनतालाई मिलेको छ ।

प्रतिपक्षी पार्टीहरू भ्रष्टाचार बिरूद्द निर्मम ढङ्गबाट प्रस्तुत भई राणाकालिन समय देखि हाल सम्मका हरेक भ्रष्टाचारका काण्डहरूलाई निष्पक्ष छानबिन गरि घटित काण्डका दोसीहरूलाई कारबाहीको दायरामा ल्याउन सकेमा मुलुकको अवस्था ,स्थिती र राजनैतिक सुद्दिकरण समेत ठुलो छलाङ मार्ने निश्चित थियो । तर सत्ता पक्ष हुँदा सुनपानी छर्किने र प्रतिपक्षमा हुँदा पड्किने नेपाली राजनैतिक चरित्रले भ्रष्टाचार जस्तो जघन्य अपराधलाई ख्याल ख्यालमा मजाकको विषय मात्रै बनाईएको छैन ।यसलाई हलुका रूपमा लिईएको देखिन्छ।

जब सम्म राजनैतिक दलहरूमा भ्रष्टाचार बिरूद्दको शुन्य सहनशिलाताको नीति अनुरूप व्यवहार र चरित्रको विकास हुन सक्दैन तब सम्म हाम्रो राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष दुबै बेईमान नै भैरहनेछन् । जनता माथी गद्दारी नै गरिरहनेछन र सत्ता बाहिर हुँदा भ्रष्टाचारी भन्दै आरोप लगाउने र सत्तामा पुगेपछि सबै सामसुम पार्ने प्रवृत्ति,लोकतन्त्र, सुशासन र देशको विकासको लागि निरन्तर अवरोध भैरहनेछ ।

लेखक -विक्रान्त

(लेखक नेपाली सेनाका अवकास प्राप्त कर्मचारी हुन ।)