
मुक्तक १
झलमल्ल जवानी अनुहारमा चमक रोशनी हुनुपर्छ
मिठा बात एक अर्काको बोलीमा मोहनी हुनुपर्छ
प्रेमिल जिन्दगी जिउनुको तब पो मज्जा आउँछ
झुम्म प्यार हुनुपर्छ थोरै थोरै रोमाञ्च पनि हुनुपर्छ

मुक्तक २
कहिले छोड्ने छैन तिमीलाई राखुँला साथैमा
प्रीय मान्छे बसौली आँडैमा मोई खाउली गालैमा
आउन एकपल भएपनी मेरो नजिक भएर त हेर
मज्जासँग ओठमा ओठ चुमौली बसेर काखैमा
मुक्तक ३
जनताहरूलाई कति दु:ख यो प्यारो नेपालमा
गन्तव्यमा पुग्नलाई त सारै अफ्ट्यारो नेपालमा
हेर्नुस् धुलै धुल् छ जताततै त्यसैमाथी जामहरु,
कठै बरि दिउँसै अँध्यारो अँध्यारो नेपालमा

मुक्तक ४
आफ्नो खुसीको खबर सुनाई हँसाउन सकेनौ भने
एकदिन पनि आमाबुबाको मन बुझाउन सकेनौ भने
तिमिले पो जिवनमा खुसी कसरी पाउन सक्छौ छोरा
जन्म दिने आमाबाबुलाई नै खुसी बनाउन सकेनौ भने
मुक्तक ५
बाँडिचुडी खाउँ मरेर के लाने हो कसैले पनि
आखिर आफ्नो मेहेनतको खाने हो कसैले पनि
धेरै आपलोभ पनि के गर्नु यहाँ अमर रहन्न कोहि ,
एकदीन अबश्य संसार छोडी जाने हो कसैले पनी!
मुक्तक ६
मैले जानेको म सिकाउछु तपाइले जानेको तपाई
मीठो बोलौँ गाली गर्नु राम्रो हुँदैन कसैले कसैलाई
अरुको लागि सधैंभरी नराम्रो मात्रै सोच्ने मान्छेले,
मुक्तक ७
उ टेक्सी ड्राइभर पो हो प्लेन उडाउन सक्दैन
वडाको बजेटले क्रीकेट रंगशाला बनाउन सक्दैन
त्योत सब चुनाव जित्न भनेको हो याद राख्नुस्,
गधाले त भारी पो बोक्ने हो गित गाउन सक्दैन !
मुक्तक८
ढुँगे युग नै छ अझैं केही भएन सुधार उस्तै छ
दु:ख पीडा उस्तै छ जनतालाई मार उस्तै छ
कत्ति परिवर्तन भयो सोध्नुहुन्छ प्रदेशी दाइले?
गाउँ समाजको हाल उस्तै छ समाचार उस्तै छ
मुक्तक ९
वचन लाउने तिम्रो मन दुखाउने तिम्रै आफ्ना हुन्
तिमीलाई दु:ख दिने रुहाउने तिम्रै आफ्ना हुन्
दु;ख परेको बेला तिम्रो अगाडी कठै भनेर गएपनी
पर पुगेर खुसी हुँदै हाँस्ने रमाउने तिम्रै आफ्ना हुन्
मुक्तक १०
मेरो वचन अन्यथा नलिनु मुखिया बा भन्नुहुन्छ
सुध्रिरहेको छ घर सम्झिनु मुखिया बा भन्नुहुन्छ
बर्षौ देखिको इज्जत छ गाउँमा प्रीय लेखक भाइ,
म चोर हुँ तर चोर नभनी दिनु मुखिया बा भन्नुहुन्छ
मुक्तक ११
गित संगित,अभिनय मै भविष्य अडिएको देख्छु
हरेक मिडियाले समाचार सम्पाद लिएको देख्छु
आजभोलि माग पनि निकै बढेको रहेछ बजारमा
विज्ञापनमा समेत तिम्रा फोटोहरु छापिएको देख्छु
मुक्तक १२
बिकृति रोक्न नदिने कपुतको अन्त्य कहिले होला?
भेदभाव अनि यो छुवाछुतको अन्त्य कहिले होला ?
नारीलाई छुनु हुन्न महिनावारी भएको बेला भन्ने गर्छन्
प्रभु रिसाउछन् भन्ने मन भुतको अन्त्य कहिले होला?
मुक्तक १३
देशबाट सुधार हराएर गयो बेहाल मात्रै बाँकी रह्यो
खडेरी पर्यो सुकिसक्यो पानी ताल मात्रै बाँकी रह्यो
हाम्रो देशमा भ्रस्टाचारि दलालहरुको बिगबिगी भो
नेपालको ने खाइ सक्यो अब पाल मात्रै बाँकी रह्यो
मुक्तक १४
कसरी जिउँ बिधुर भएर जिवन रुन मन लाग्छ
यि साना टुहुरा बच्चालाइ देखेर झन् रुन मन लाग्छ
बुवा प्रदेश गएका बर्सौ भैसक्यो अत्तोपत्तो छैन्
घरमा बुढी आमा बिमारी छन् रुन मन लाग्छ
मुक्तक १५
हत्या हिंसा बारम्बार बढ्न लागेको देख्छु
ठालु घुसखोरी भ्रष्टाचार बढ्न लागेको देख्छु
दुर्घटना मात्रै हुन थाले दिनहुुँ दिन यो देशमा
कारण बेथिति कुसंस्कार बढ्न लागेको देख्छु
मुक्तक १६
सन्तानको लागि खुसी चाहाने चिन्ता गर्ने आमा मात्रै हुन्
बच्चादेखि ठूलो हुँदासम्म सुवास छर्ने आमा मात्रै हुन्
दुनियाँले त खुट्टा तान्न खेदो खन्न बाहेक केही जान्दैनन्
दुख कष्ट केही नभनी सन्तानकै लागि पर्ने आमा मात्रै हुन
मुक्तक १७
म यो खाडीमा बस्न सक्दिन आमाको फौन नआएपछी
एकैचोटी भएपनी म खुसी हुन्छु बाबु भन्दै बोलाएपछी
केही चाहिँदैन मेरो जिन्दगी त्यसै रंगिन भएर आउनेछ
बस आमाको न्यानो माया ममता , सधैं साथ पाएपछी
मुक्तक १८
फाटेको मनमा नुन चुक लाउन दसैँ किन आउँछ?
भगवान हामी अभागीलाई सताउन दसैँ किन आउँछ?
न त आफन्त छन् न त परिवार छ न त आमाबाबु छन्,
हामी टुहुरा बालकलाई रुवाउन दसैँ किन आउँछ ?!
मुक्तक१९
मेहनत गर्नमा पाइला चाल जीवन जिउन सहज हुन्छ
असल काममा हाम फाल जीवन जिउन सहज हुन्छ
समाजमा बसेर एक अर्का देखि रिसराग पाल्नुभन्दा,
बाख्रा पाल कुखुरा पाल जीवन जिउन सहज हुन्छ!
मुक्तक २०
पैसाको लोभले गलत काममा अघि सर्नु हुन्न साथी
परिवारलाई चिन्ता हुने कामको पछि पर्नु हुन्न साथी
घरमा रात दिन बेक्कारको अशान्ती ,हुलदंगा मच्चाइ,
जिउँदै आमाबुबालाई मार्ने काम कहिले गर्नु हुन्न साथी!
मुक्तक २१
सत्संग, सत्कर्म गरौँ किर्तन भजन गाउँ त्यही नै धर्म हो
आराधना गरी भगवानको शरणमा जाउँ त्यही नै धर्म हो
जिउँदो भगवान आमाबुबा हुन् संसारमा सबैभन्दा ठुला,
सास रहुन्जेल मीठो बोलौँ चिन्ता नगराउँ त्यही नै धर्म हो।
मुक्तक२२
कहाँ थियौ नेताहरु खोलाले मान्छे बगाइरहेको बेला
पानी परेको बेला बाढी आएको बेला देश रोएको बेला
बस भगवान पुर्कान बाहेक केही अरु बिकल्प थिएन ,
घर भित्रै पानी पसेर हामी जनता डुवानमा परेको बेला!
मुक्तक२३
किन सधैँ पापी सोच बनाउनुहुन्छ मूर्ख मान्छेहरु ?
मलाई हान्ने कुट्ने धम्की दिई डराउनुहुन्छ मूर्ख मान्छेहरु
कसैलाई मारेको छैन कसैको कुभलो चिताएको छैन,
सित्तैमा मसँग रिस गरेर के पाउनुहुन्छ मूर्ख मान्छेहरु?
मुक्तक २४
जाउ जाउ पापी यहाँ के गरेको छौर? गाउँघर छोडी जाउ
उतै घर जम बसाल है छेपारो भ्यागुतो सँग माया प्रेम लाउ
मैले लेखेका रचनाहरुले गाउँमा बस्नै गार्ह्यो भयो भन्नेहरु,
बाँदर, बदेल, स्याल सँग जँगल मै बसेर कन्दमूल खाउ!
मुक्तक २५
तिमिले जिवनमा के राम्रो गरेको छौर खुसी पाउँछु भन्छौ ?
तिर्थधाम जान्छु अब म धर्मकर्म गर्छु पुण्य कमाउँछु भन्छौँ!
आज बा वृद्धाआश्रम मै बित्नु भो कठै दागबत्ती समेत पाएन,
छोरा तिमि बिदेशमा कसरी पो हाँसीखुसी दिन बिताउँछु भन्छौ? !
मुक्तक २६
सहरमा हुर्केकी रहेछ्यौ तिम्रो रहन सहन मन पर्दैन
हिटाई बसाई लवाई खवाई बोली वचन झन मन पर्दैन
रुप राम्रो छ भन्दैमा म तिम्रो नजिक हुन सक्दैन जुनेली,
मलाई तिम्रो बानी व्यबहार उत्ताउलो पन मन पदैन!
मुक्तक २७
मान्छेको मन हो केही पनि गर्न सक्छ
मान्छेकै हातबाट यहाँ मान्छे मर्न सक्छ
भाइ बन्धुमा यसैगरी रिस बढ्दै गयो भने,
एकदिन हाम्रो गाउँ दुर्घटनामा पर्न सक्छ!
मुक्तक २८
आपस आपस् मै लडेर ,भिरेर के फाइदा?
मरेर जाने चोला हो रिस राखेर के फाइदा ?
सबैसँग मीठो बोलौँ आत्मीयता बढ्छ,
एक अर्काको खैरो खनेर के फाइदा ?!

मुक्तक२९
भुँडी फुट्ने गरि खाइसक्यो अझैं चाखेको छैन भन्छ
खल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छ
नत कसैले चोर भनेको छ नत उसलाई सोधेको छ,
जो चोर हो ठूलो स्वरमा आफैं मैले चोरेको छैन भन्छ!
मुक्तक३०
झुटो बोलेर भोट किनेको रहेछ अब के बिकास हुन्छ
उनाइस लाख खर्च भएको रहेछ अब के बिकास हुन्छ
वडा अध्यक्षको उमेदवार हुँदा नै प्रती ब्यक्तिलाई,
एक एक हजार बाँडेको रहेछ अब के बिकास हुन्छ!
मुक्तक३१
नेता जि सुखी र समृद्ध नेपालको नारा कता गएछ
जताततै चोर, दलाल, ठगहरुले पाइला टेके छ
आफू , कार्यकर्ता सबै झोले कहाँ भाग पुग्नै पर्ने ,
भ्रस्टाचारिको भुँडी पनि पानी टंकी जस्तै रहेछ!
मुक्तक ३२
कसरी जिउँ बिधुर भएर जिवन रुन मन लाग्छ
यि साना टुहुरा बच्चालाई देखेर झन रुन मन लाग्छ
बुवा प्रदेश गएका बर्सौ भैसक्यो अत्तोपत्तो छैन
घरमा बुढी आमा बिमारी छन् रुन मन लाग्छ
मुक्तक ३३
हत्या हिंसा बारम्बार बढ्न लागेको देख्छु
ठालु घुसखोरी भ्रष्टाचार बढ्न लागेको देख्छु
दुर्घटना मात्रै हुन थाले दिनहुुँ दिन यो देशमा,
कारण बेथिति कुसंस्कार बढ्न लागेको देख्छु!
मुक्तक ३४
झ्यालबाट हेरिहेरी रात बिताए हिजो राती पनि
दुखी मनलाइ सम्झाए बुझाए हिजो राती पनि
तिमी आउँछु आउँछु भन्यौ बेस्सरी ढाँट्यौ
म कत्ती तड्पिए छट्पटाए हिजो राती पनि
मुक्तक ३५
प्रेमिल बातहरु संगै डुल्न घुम्न पाए पो मजा
ओठमा ओठ मिलाएर अरे चुम्न पाए पो मजा
आफ्नो प्रेमीसँग रसपानको दुनियाँमा पौडीएर
मध्य रातमा मजासँग रम्न झुम्न पाए पो मजा
मुक्तक३६
बाहिरी रुप गोरो मन भएका कालो यो गाउँमा छन्
हावाहुरी , बाढी , पहिरो , भुइचालो यो गाउँमा छन्
राम्रो बोल्ने राम्रो गर्ने त सधैँ नराम्रो हुन्छ के गर्नु,
घर घरको चोरी खाने ढाडे बिरालो यो गाउँमा छन् ।
मुक्तक ३७
परिश्रम, सत्य कर्म गरि पसिनाको फल गन्न सकुँ
सहिलाइ सहि गलतलाई गलत हो सधैं भन्न सकुँ
मलाइ जस्ले जे जस्तो भनेपनी जस्तो सुकै गरेपनी,
यो समाजको लागि म एक साहासी बाघ बन्न सकुँ।
मुक्तक ३८
ए दुख्खी जनताहरुहो हँ किन बोल्दैनौ डरेर हुन्छ?
सुख, सुविधा साधन लुटेराहरुलाइ मात्रै भएर हुन्छ?
लुटेराहरू हो भनुहोस् त गाउँ समाज देश परिवर्तन,
झुटा आश्वासन जनताहरुलाई यसरी ठगेर हुन्छ ?
मुक्तक ३९
दुखेको छ आत्मा पनि जीवन खलबलिएको छ
खै किन होला प्रभु मेरो यो मन खलबलिएको छ
दिनरात मनमा आउँछन् नकारात्मक कुराहरु मात्रै,
केके केके सोच्छ मेरो दिमाग झन खलबलिएको छ ।
मुक्तक४०
मान्छे मार्ने आदेश सधैं दिदै जाउ है सरकार
बुद्धको देशमा रगतको खोला बगाउ है सरकार
बोल्ने युवाहरू जति सबै गोलि ठोकी ठोकी मार्देउ,
अब भने तिमी मात्रै यो देशमा बाँची खाउ है सरकार ।
मुक्तक ४१
देशमा बिकासको गति ओरालो ओरालो लागेको छ
हाम्रा नेताहरुको दिमाग भने खै कता पो भागेको छ
मैलेत साथिहरुसँग रिन गरेको हो के रिस गर्नुहुन्छ?
मेरो सरकारले बाहिर रास्टहरुसँग भिक मागेको छ ।
मुक्तक ४२
रोजगार खोज्दा गोली उपहार दिनुपर्छ भनी
बिचरा निर्दोष युवाहरूको ज्यान लिनुपर्छ भनी
सत्यको लडाईँ लड्दा,बोल्दा ए नालायक सरकार,
कुन कानुनमा लेखेको छ घाँटी निमोठिनु पर्छ भनी ?
मुक्तक ४३
बध्यताले खाडी मुलक पनि यहाँ मन पराउनु पर्ने भयो
देशमा रोजगारी माग्न पनि सडकमा कराउनु पर्ने भयो
स्यालले कुखुरा समाए झैँ च्याप्प खोरमा थुनिदिन्छन्,
अब त यो देशमा बोल्न पनि सारै डराउनु पर्ने भयो ।
मुक्तक ४४
दु:ख पिर परे साथ दिउँला भन्ने आफ्नाहरु हुन्
जब दु:ख पर्छ फेरि खुसी बन्ने आफ्नाहरु हुन्
मेरो त आफ्नाहरु छन् भनेर छाती नफुलाउ भाई
तिमी म जस्तोलाइ मान्छेमै नगन्ने आफ्नाहरु हुन्
मुक्तक ४५
छन आफ्ना तर आत्मीयपन खै कता हराएको छ
आफ्नामा हुनुपर्ने सहयोगी मन खै कता हराएको छ
घरमा भाइमै रिस छ दिदी बहिनैमै रिस छ
मीठो माया मीठो बोली बचन खै कता हराएको छ
मुक्तक ४६
तिम्रो आफ्ना तिमि फसाउने षड्यन्त्र रच्दैछन्
तिम्रो सम्पति हात लाउने षड्यन्त्र रच्दैछन्
हिजो तिमिले कतै जागीर लागे हुन्थ्यो सोच्थे
आज जागीर लाग्यौ छुटाउने षड्यन्त्र रच्दैछन्
मुक्तक ४७
बिश्वास घाती हुन्छन बिश्वास गर्दै नगर्नुहोस्
यी दुष्ट पापी आफ्नाहरुको भर पर्दै नपर्नुहोस्
जस निम्ता गर्न छोडी बेक्कारमा दोस् लगाउँलान्
भो भो आफ्नाहरुको काममा अघि सर्दै नसर्नुहोस्
मुक्तक ४८
सोचौँ भोकाएको गोरुले घाँस पाए जस्तो
खाँदैछ आफु गर्दैछ मलाई खुवाए जस्तो
एक धनी मलाई बेस्सरी दौडाई रहेको छ,
ड्राइभरले गाडी मोटर,कार कुदाए जस्तो ।
मुक्तक ४९
यी मेरा आफन्त दुइ चार बसिरहेका हुन्छन्
बाहिरी आस देखाई लगातार बसिरहेका हुन्छन्
कहिले पर्न समेत चाहँदैनन् मेरो छेउछाउमा,
यहाँ घाँटीमा भने बारम्बार बसिरहेका हुन्छन् ।
मुक्तक ५०
खुसी हुनु कत्ती नम्मान्नु है पिर चिन्ता डर सुनेपछि
म जलेको भिडियो खिच्न आउनु सकभर सुनेपछि
प्रिय मान्छे तिमी घरमा कुखुरा काटेर मज्जाले खानु,
कतै कतै कोही कसैबाट म मरेको खबर सुनेपछि ।
मुक्तक ५१
केटी तिर नजर हुँदैन सकभर नलाको
जन्म्यो मेरो छोरा कत्ति डर नभाको
गएको थियो साथी भेट्न जान्छु भनी,
हेर्नुहोस् बर्सौँ भैसक्यो घर नआको ।
मुक्तक ५२
हेर्नुहोस् त भगवान म जिउँदै मरेको छु
सारै कडा छिन् मेरि सामा धेरै डरेको छु
बाँच्छु मर्छु थाहाछैन् म उम्कनै नसक्ने,
मायाँ प्रेमको गहिरो डुबानमा परेको छु ।
मुक्तक ५३
खुकुरीले हानेका चोट आखिर सहन्छु
म अचानो हुँ जस्तोसुकै पिर सहन्छु
दु:ख कष्ट दर्द पीडा सब लुकाएर यहाँ,
जे गर्न सिकाउँछ मेरो तकदिर सहन्छु ।
मुक्तक ५४
साहारा बिहिन छु न स्वास्नी न चेली न चेला भएपछी
अन्याय अत्याचार घृणा मात्रै यहाँ बेलाबेला भएपछी
म केही गर्न सक्दिन अपाङ्ग छु ,अन्धो छु यो समाजमा
खै कसरी जिउन सक्छु जताततै बाट हेला भएपछी ?
मुक्तक ५५
सन्चो बिसन्चो दु:ख दर्द पीडा पिर देख्ने हैन
काम गर्ने पाखुरा बनाएनी जन्जिर देख्ने हैन
साहुकै दासता गर्दागर्दै यो ज्यान सुकिसक्यो!
जत्ती बगाएपनी पसिना आँखीर देख्ने हैन
पारस भट्ट( प्यासी )
सुदुरपश्चिम बैतडी






























