

दार्चुलाको दैभात गाउँका स्थानीयले नुनकै १ सय भन्दा बढी मुल्य तिरेर खानुपरेको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले एक केजी नुनको १ सय १० रुपैयाँ तिरेर खानुपरेको हो ।
प्राकृतिक सौन्दर्यताताले भरिपुर्ण हिमाली गाउँ दैभात पुग्न अपिहिमाल-५ मकरीगाडबाट ६ घण्टा उकालो चढ्नु पर्छ । दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत लगायतका सुविधाबाट वञ्चित रहेका स्थानीय प्रकाशसिंह धामीले बताए । ‘मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा हो , खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन् । करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको उनको भनाइ छ । सामाग्री भरियामार्फत ढुवानी गर्ने हो भने पनि दैभातवासीले प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।

मकरीगाड बजारमा ५० रुपैयाँमा पाइने १ केजी नुनको ६० रुपियाँ ढुवानी भाडा तिरेर गाउँमा १ सय १० रुपैयाँमा किनेर खानुपर्ने बाध्यता छ । खच्चड चल्ने बाटो स्थानीय सरकारले मर्मत नगरिदिँदा किनेको मूल्यभन्दा बढी ढुवानी भाडा तिर्नु परेको स्थानीय मञ्जु धामीले जानकारी दिइन् ।

उक्त गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, सो विद्यालयमा पक्की भवन छैन । कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी पुग्न पूरै एक दिन लाग्छ । नजिकमा विद्यालय नहुँदा कि त विद्यालय छोड्नुपर्ने, कि त डेरा गरेर गाउँबाहिर विद्यालय पढ्नुपर्ने बाध्यता समेत रहेको छ ।
स्वास्थ्य संस्था नहुँदा उपचार नपाइने तथा सिटामोलका लागि समेत पूरै दिनभरि हिँड्नुपर्ने बाध्यता दैभातवासीमा छ । दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भए विद्यालय र स्वास्थ्य संस्था पुग्न एक दिनको बाटो एक डेढ घण्टामा छोटिने भएकाले पुल निर्माण अपरिहार्य रहेको स्थानीय प्रकाश धामीको भनाइ छ ।
दैभात गाउँमा विद्युत् नहुँदा बस्ती अन्धकारमा छ । त्यहाँका स्थानीयले वडा कार्यालय पुग्नै समेत ३ घण्टा बढि समय हिड्नुपर्छ ।
गाउँ गाउँमा सिंहदरबार भन्दै देशमा संघीयता आयो स्थानीय तह लागुभए तर जनताका समस्या जस्ताको त्यस्तै छन् । दुर्गमका समस्या समाधानका लागि समेत सरकारले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।































