
खै यो कस्तो जीवनको सफर हो थाहा छैन,
साँच्चैभन्दा धर्ती हो वा सगर हो थाहा छैन।
वर्षा जस्तै वर्षिन्छन् यिनै आँखाहरू याहाँ,
धुलाउँन चाहिँदैन पानी अधर हो थाहा छैन।
फोहोरमा पनि फुलेकै हुन्छ फूल कमलको,
पानी बिनाको जीवन वेकदर हो थाहाछैन।
प्राण हत्थकेलामा राखेर मुसाफिर हिंडेको,
गन्तव्य कहाँ यो आफ्नो घर हो थाहा छैन।
सबैलाई आफ्नै ठान्दछु पराया छैनन् कोही,
तर जिन्दगी कसैमा त निर्भर हो थाहा छैन।

॥१॥
हाम्रो तिम्रो सधैलाई एउटै घर हुनुपर्छ,
तिमिलाई मेरो मलाई तिम्रो भर हुनुपर्छ।




ठोक्कर लाग्दै गर्छ हिँड्न छोड्छौँ कहाँ,
यात्रुहरूलाई एक्लै हुँदा पो डर हुनुपर्छ।
मात्रृत्वभूमि बिना कसरी जिउँला हामी,
यो देश बनाउँने र सझाउँने रहर हुनुपर्छ।
कर्तव्य नभुलौँ सन्ततीहरूले मिलिजुली,
कुसंस्कार नै बढार्ने सबैलाई कर हुनुपर्छ।
हामि एउटै आमाका सन्तान् बुझि राखौँ,
मेरो तिमिलाई तिम्रो मलाई खबर हुनुपर्छ।
हिमाल पहाड र तराईकै हामि सयौँ जाती,
सबैको फूलेकै फूल झैँ सधैँ अधर हुनुपर्छ।
॥२॥
साथी जबसम्म यो देशको सिमानामा पर्खाल हुँदैन,
देशका नेताहरूमा देशभक्ती भावना वेमिसाल हुँदैन।
तस्कर हुन्छ अपराध हुन्छ र देश नै अशुरक्षित सधैँ,
जबसम्म युवाशक्ती यो देशको निमित्त ढाल हुँदैन।
हिमाल सम्म दुष्टकै दृष्टी दलाल कुना कुना देशका,
शुरक्षित देशको स्वाभिमान हुँदैन र फैबताल हुँदैन।
को भन्छ देश घायल छैन अर्ध उपनिवेशिक याहाँ,
त्यो रहिरहन्छ जबसम्म देशमा युवा सञ्जाल हुँदैन।
उत्पादन छैन,छैन राजनीतिमा नि जनताको एकता,
कसरी बाँचौँ यो देशमा नागरिकको देखभाल हुँदैन।
सहकारीमा भष्टाचार हुन्छ अपराध र तस्कर देशमा,
भ्रष्टाचार मुक्त हुदैन उन्लाई कार्वाई तत्काल हुँदैन।
तिमी जातियता क्षेत्रियताका कुरा गर्छौ आजभोली,
पृथक्ताले शुरक्षित् तराई हुँदैन पहाड हिमाल हुँदैन।
॥३॥
विकास गर्दैनन् विकासको नाममा बक्वास गर्छन्।
यी भ्रष्टाचारी नेताहरूले देशमा सधै तमास गर्छन्।
कस्को भरमा देश छाडी विदेश जान्छौ युवा शक्ती,
धेरैजसो नेताहरू विदेशीको दलालि खास गर्छन्।
देश हरिकङ्गाल भयो सधै भ्रष्टाचारले जरा गाड्यो,
काम खोज्न विदेशजांदा विदेशीले उपहास गर्छन्।
ए जनता समयमै उठ जुट अनि जाग यस्तै भइरहे,
एकदिन देशलाई यि डांकाहरूले सत्यानास गर्छन्।
धेरै भयो यो देशका जनताहरूले सास्ति पाएको,
ठेक्कापट्टा समेतमा कमिसन पाएभने पास गर्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































