
नेपाली साहित्यको आख्यान विधामा विशिष्ट योगदान पुर्याउनुभएकाले साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिएको छ। लमजुङ–पोखरा सम्पर्क समितिले उक्त सम्मान प्रदान गरेको हो।

शनिबार पोखरामा आयोजित एक विशेष कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले समीपलाई नगद रु. १०,०००, दोसल्ला, र सम्मानपत्र प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै सरुभक्तले आख्यान क्षेत्र विश्वमै लोकप्रिय भए पनि यस विधामा लाग्ने व्यक्तिहरूको कमी रहेको उल्लेख गर्नुभयो। उहाँले आख्यानका क्षेत्रमा सम्मान र पुरस्कारको अभाव रहेको अवस्थामा लमजुङ–पोखरा सम्पर्क समितिले यस्तो पुरस्कार स्थापना गर्नु प्रशंसनीय कार्य भएको धारणा व्यक्त गर्नुभयो।
पुरस्कार ग्रहण गर्दै साहित्यकार दीपक समीपले यो सम्मानले आफूलाई आख्यान लेखनमा अझै मेहनत गर्न प्रेरणा दिएको बताउनुभयो। समीपका चर्चित कृतिहरूमा भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८), र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह, २०८०) रहेका छन्।


लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार संस्थापक प्रेमकुमारी गुरुङले साहित्यप्रति आफ्नो रुचिका कारण साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेको बताउनुभयो।
यस सम्मानले आख्यान लेखनप्रति प्रतिबद्ध व्यक्तिहरूलाई थप उत्प्रेरित गर्ने विश्वास लिएको छ।





























