
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज देवी सरस्वतीको पूजा–आराधना तथा वसन्त श्रवण गरेर मनाइँदै छ। काठमाडौंको हनुमानढोकास्थित नासल चोकमा बिहान ०७ः५५ बजे वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गरेको साइतअनुसार हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन्। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहनेछ। वसन्त श्रवणको सबै तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ।
देशभर सरस्वती पूजामा भक्तजनको घुइँचो
यसै अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा देशभर निष्ठापूर्वक गरिँदै छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी सरस्वतीको विशेष रूपमा साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले पूजा आराधना गर्छन्। कलम, कापी, कुची, वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्ने परम्परा रहेको छ। तान्त्रिकहरू सरस्वतीलाई तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
सूर्य उत्तरतिर लागी दिन लामो हुने तथा वसन्त ऋतुको सुरुवात हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिन्छ। ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
आजका दिन बालबालिकालाई शिक्षारम्भ गराउने तथा नाक–कान छेड्न शुभ मानिन्छ। विवाह, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह (इही) जस्ता धार्मिक कार्य गर्न साइत नहेर्नुपर्ने परम्परा रहेको छ। काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारा, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण हुने तथा चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास छ।































