
नेपालमा सुनको मूल्य फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो उच्च मूल्य १ लाख ७१ हजार रुपैयाँ नजिक पुगेको छ।

सरकारले मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि २० प्रतिशत रहेको भन्सार दर घटेसँगै सुनको मूल्य केही समयका लागि घटेको थियो। मंसिर ९ गते राजपत्रमा सूचना प्रकाशित भई मंसिर १० गतेदेखि यो निर्णय लागू भएपछि सुनको मूल्यमा तत्काल गिरावट आएको थियो।
यसअघि, तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएका थिए। तर, पुनरावलोकनपछि भन्सार दर घटे पनि सुनको मूल्य पछिल्लो समय निरन्तर बढ्दो क्रममा रहेको छ।
विश्लेषकहरूका अनुसार भन्सार दर घट्नुका बाबजुद सुनको मूल्य उच्च रहनुको कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव, नेपालमा सुनको माग र आपूर्तिसँगै अन्य आर्थिक कारकहरू हुन्।


























