
झिसमिसे बिहान त्यो अनन्त क्षितिजबाट
आकाशमा रातो सिन्दुर छर्दै झुल्किने
त्यो घाम
अनन्त अन्धकारमा धकेलिन फेरि
त्यै अनन्त क्षितिजमा डुबेजस्तै।
डुब्नेछु एक दिन
यो अनन्त दुनियाँबाट।
तर
त्यो घाम जसरी भोलि फेरि
म झुल्किने छैन।
पातमा भएका सितका थोपामा ठोकिएर
आशाका किरण फैलायसरी
त्यो मनको अन्तर कुनामा
एउटा सानो आशाको बिउ रोप्ने छैन।

जसरी,
ब्ल्याक होलमा प्रकाशका किरणहरू
अनन्त कालमा गई हराउने गर्छन्।
सानोमा डाक्टर इन्जिनियर बन्ने सपना देख्नेको
ठूलोमा अभावले त्यस्ता रहर बिलाउने गर्छन्।
शून्यमा शुरू भएका अंकहरू
अन्त्यमा अनन्त शून्यमा मिस्किने गर्छन्।
त्यसरी नै अनन्त अन्धकारमा नफर्किने गरी
हराउनेछु एक दिन।
मेरा हजुरबा पनि हराउनु भयो
त्यो अनन्त अन्धकारको भुमरीमा
मेरा रहर र सपनाहरु हराए जसरी।
कृष्ण तिमिल्सिना ‘सानो बाबु’
कंचनरुप नगरपालिका सप्तरी




































