
प्रेम बिष्ट टाईगर/ अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा नेकपा (एमाले) भित्रको आन्तरिक सङ्कट केही मत्थर हुँदै गएपछि स्थानीय नेताहरू जरा केन्द्रित अभियानमा सक्रिय भएका छन्। सोमबार वडा नम्बर ४ मा आयोजित कार्यक्रममा पार्टीका विभिन्न गुटका नेताहरूको बाक्लो उपस्थिति देखियो।

गोदावरीमा एमालेभित्र तीन उपगुट सक्रिय रहेका छन्, जसले पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई मुख्य नेतृत्व मान्ने गरेका छन्। यद्यपि, यी गुटहरू आन्तरिक रूपमा प्रतिस्पर्धात्मक अवस्थामा छन्।
पूर्व मेयर हरि सिंह साउँद नेतृत्वको गुट हाल जिल्ला कमिटी सदस्य गणेश जिमी साउँदको कमान्डमा देखिन्छ। साउँदले नैन सिंह कार्की समूहसँग निकटता बढाएको चर्चा भए पनि जिमी समूहले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। अर्कोतर्फ, प्रदेश कमिटी सदस्य गोकर्ण भट्टको समूह पनि नगर कमिटीमा प्रभावशाली रूपमा सक्रिय छ।


नगर कमिटी सचिव विक्रम बिष्ट गोकर्ण समूह निकट छन् भने नगर कमिटी अध्यक्ष सन्तोष सिंह पूर्व मेयर हरि सिंह साउँदका समर्थक थिए। तर, साउँदले गुट परिवर्तन गरेपछि उनी नगर कमिटीमा अल्पमतमा परेका छन्।
पार्टीभित्रको आन्तरिक तनाबका कारण जरा अभियान प्रभावित हुन थालेपछि केही दिनअघि पार्टी इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सल्लाहकार सदस्य हरि सिंह साउँद, कैलाली इन्चार्ज नारदमुनि राना तथा गोदावरीका अन्य नेताहरूबीच छलफल भएको थियो। इन्चार्ज भट्टले आन्तरिक विवाद मिलाएर अघि बढ्न निर्देशन दिएपछि स्थानीय नेताहरू पुनः जरा केन्द्रित अभियानमा जुट्न थालेका छन्। यसले पार्टीभित्रको विवाद केही मत्थर भए पनि गुटगत प्रतिस्पर्धा कायमै रहेको देखिन्छ।





























