
कैलालीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मंगलबार सम्पन्न मतदानपछि मतगणना जारी रहेको छ। क्याम्पसमा १,४०३ मत खसेकोमा हालसम्म ९११ मत गणना भइसकेको छ।

मतगणनाको पछिल्लो परिणामअनुसार नेविसंघका सभापति पदका उम्मेदवार दीपक भट्ट ३४४ मतसहित अग्रस्थानमा छन्। अनेरास्ववियुका उम्मेदवार दिपेन्द्र भट्टले २७३ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीका विकास बिस्टले २६५ मत प्राप्त गरेका छन्। अब ४९२ मत गणना हुन बाँकी छ।

सुदूरपश्चिममा अत्यधिक चासोका रूपमा हेरिएको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा भइरहेको छ। सभापतिका लागि नेविसंघबाट दीपकराज भट्ट, अनेरास्ववियुबाट दिपेन्द्र भट्ट र अखिल क्रान्तिकारीबाट विकास बिष्ट उम्मेदवार बनेका छन्।

अनेरास्ववियुले आफ्नो दबदबा कायम राख्नेछ कि नेविसंघले विजय हासिल गर्नेछ वा अखिल क्रान्तिकारीले अप्रत्याशित नतिजा ल्याउनेछ भन्ने अझै निर्धारण हुन बाँकी छ।





























