
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा उनले १,१०२ मत ल्याएर जित हात पारे। उनका प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत प्राप्त गरे भने अघिल्लो स्ववियु निर्वाचनमा एमाले निकट अखिलबाट निर्वाचित भएका विराज अर्याल ६३९ मतसहित तेस्रो स्थानमा पुगे।

श्रेष्ठले प्रमुख दलनिकट विद्यार्थी संगठनका उम्मेदवारलाई पछि पार्दै ऐतिहासिक जित हासिल गरे। उनी २०७९ को स्ववियु निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारकै रूपमा सदस्यमा विजयी भएका थिए। निर्वाचित भएपछि उनले भने, “अघिल्लो कार्यकालमा विद्यार्थीका समस्या समाधान गर्न सक्रिय भएर काम गरेकाले यो जित संभव भएको हो।”

क्याम्पसका प्राध्यापकहरूका अनुसार भ्रातृसंस्थाका आन्तरिक विवाद र विद्यार्थीका मुद्दामा ध्यान नदिएको कारण स्वतन्त्र उम्मेदवारको विजय सम्भव भएको हो। समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने भन्छन्, “पुराना विद्यार्थी संगठनप्रति वितृष्णा बढेको छ। विद्यार्थीका प्रतिनिधि दलका मात्र हुनुपर्छ भन्ने मानसिकता परिवर्तन भएको छ।”

श्रेष्ठको विजयले विद्यार्थी राजनीतिमा स्वतन्त्र उम्मेदवारहरूको भूमिकाबारे नयाँ सम्भावनाको संकेत दिएको छ।





























