
कैलालीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आठ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन परिणाम सार्वजनिक भएको छ। मंगलबार सम्पन्न निर्वाचनमा आठमध्ये पाँच क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने तीन क्याम्पसमा अखिल क्रान्तिकारीले जित निकालेको छ।


नेविसंघतर्फ फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार, टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री र दिपकराज भट्ट विजयी भएका छन्। धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघले विजयी भई आफ्नो विरासत फर्काएको छ।
त्यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी र सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम सभापतिमा निर्वाचित भएका छन्।
चौमाला बहुमुखी क्याम्पसमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत प्राप्त गरेकाले विवाद उत्पन्न भएको छ। नेविसंघले पुनः मतगणनाको माग गरेको छ।
त्यस्तै, धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मतगणना जारी रहेको छ, जहाँ नेविसंघ अग्रता लिइरहेको छ।
यसैबीच, घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन।





























