
कैलालीको गेटा अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट डा. प्रमोदकुमार यादवलाई नयाँ निर्देशकका रूपमा नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार उनलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।

यसअघि अस्पतालको निर्देशक डा. अशोक श्रीपाईली थिए। तर, नियुक्त भएको तीन महिनामै उनले राजीनामा दिएपछि अस्पताल दुई महिनादेखि नेतृत्वविहीन अवस्थामा थियो।

डा. यादव यसअघि जनकपुर प्रादेशिक अस्पताल र ट्रमा सेन्टरको निर्देशकका रूपमा कार्य गरिसकेका अनुभवी चिकित्सक हुन्। उनको नेतृत्वमा गेटा अस्पतालको सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

सरकारले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने निर्णय गरिसकेको छ। हाल विश्वविद्यालय संरचनाबिना नै ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। गेटा अस्पताल २०८० कार्तिक १ गतेदेखि सञ्चालनमा आएको हो, जसयता दुईजना निर्देशक फेरिएका छन्।





























