
काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनमा संलग्न व्यक्तिहरूको गिरफ्तारी जारी छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जना पक्राउ परिसकेका छन्। प्रहरीको बन्दुक खोस्ने व्यक्ति पनि पक्राउ परिसकेको भए पनि उनको नाम खुलाइएको छैन।

प्रहरीले अमानवीय, अमर्यादित, तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। यसै क्रममा, राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणा, स्वागत नेपाल लगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परिसकेका छन्। राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ।

आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने अझै फरार रहेका छन्।





























