अत्तरियाको दुर्गालक्ष्मी नमुना विद्यालयले स्वर्ण महोत्सव मनाउदै, के के छ त तयारी ?

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका-२, अत्तरियामा अवस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आफ्नो ५० औँ स्थापना दिवस (स्वर्ण जयन्ती) भव्य रूपमा मनाउने तयारी गरिरहेको छ। “हाम्रो इच्छा घरघरमा शिक्षा” नारासहित विद्यालयले पाँच दशकको यात्रालाई ऐतिहासिक बनाउन चैत्र २७ देखि २९ गतेसम्म विशेष महोत्सव आयोजना गर्ने भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहका अनुसार, महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको छ। यस अवसरमा विद्यालयमा विभिन्न खेलकुद तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्। विद्यालयका प्रधानाध्यापक एवं स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य सचिव शिवराज जोशीका अनुसार, महोत्सवलाई भव्य र ऐतिहासिक बनाउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ।

CP Hospital Dhangadhi

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
स्वर्ण महोत्सवलाई विशेष बनाउन राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्ने तयारी भइरहेको छ। साथै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा मन्त्री विद्या भट्टराई, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, विज्ञान अभियन्ता महावीर पुन, विश्वप्रसिद्ध नेत्र सर्जन डा. सन्दुक रुइत लगायतका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यी प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति स्वर्ण महोत्सवको गरिमा बढाउने विद्यालय प्रशासनको विश्वास छ।

विद्यालयको ऐतिहासिक योगदान
२०३० सालमा स्थानीय स्तरको पहलमा स्थापना भएको दुर्गालक्ष्मी नमूना माविले कैलाली, कञ्चनपुर तथा सुदूरपश्चिमका पहाडी ७ जिल्लाका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। हाल विद्यालयमा ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ८२ जना शिक्षक-कर्मचारी सेवारत छन्। विद्यालयले नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा कक्षा १२ सम्म पढाइ गर्दै आएको छ।

nawajiwan

विद्यालय ३ बिघा क्षेत्रफलमा फैलिएको छ, जसमा पर्याप्त भौतिक संरचना, खेलकुद मैदान, प्रयोगशालाहरू तथा पुस्तकालयको सुविधा उपलब्ध छ। निम्न आयवर्गदेखि सम्पन्न परिवारका विद्यार्थीहरू समेत अध्ययन गर्ने भएकाले यस विद्यालयलाई सुदूरपश्चिमकै शैक्षिक गन्तव्यका रूपमा लिइन्छ।

Attariya Hospital

तीन दिने विशेष महोत्सव कार्यक्रम
स्वर्ण जयन्ती महोत्सव अन्तर्गत विद्यालयले विविध कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ। यस अवसरमा संस्थापक सम्मान, विज्ञान प्रदर्शनी, बृहत सांस्कृतिक कार्यक्रम, बौद्धिक प्यानल छलफल, खेलकुद प्रदर्शन तथा शैक्षिक अवलोकन जस्ता गतिविधिहरू समावेश गरिनेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहका अनुसार, “यो महोत्सव विद्यालय मात्र नभई सम्पूर्ण क्षेत्रकै गौरवको विषय हो। विगत ५० वर्षदेखि शिक्षाको ज्योति फैलाउँदै आएको यस विद्यालयले अझ उत्कृष्ट सेवाका लागि प्रतिबद्धता जनाउँदैछ।”

स्वर्ण महोत्सवले विद्यालयको गौरवशाली इतिहासलाई उजागर गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको बाटो खुलाउने अपेक्षा गरिएको छ।

Advertize US