
काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर लगातार खराब देखिएको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय कम्पनी आईक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।


हाल उपत्यकाको औसत वायु गुणस्तर सूचकांक (AQI) १९३ रहेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ। यो अघिल्ला दिनको तुलनामा केही सुधार भए पनि अझै पनि स्वास्थ्यका लागि हानिकारक स्तरमै रहेको विज्ञहरू बताउँछन्।
आईक्यू एअरको सूचीमा दोस्रो स्थानमा चीनको वुहान शहर छ, जहाँ एक्यूआई १६६ मापन गरिएको छ।
एक्यूआई स्तरको वर्गीकरण यस्तो छ:
-
०–५०: राम्रो
-
५१–१००: मध्यम
-
१०१–१५०: संवेदनशील समूहका लागि अस्वस्थ
-
१५१–२००: अस्वस्थ
-
२०१–३००: धेरै अस्वस्थ
-
३०१ माथि: खतरनाक
जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलोको सम्भावना र वर्षा नहुँदा प्रदूषण अझै बढ्ने चेतावनी दिएको छ। विभागले अत्यावश्यक कामबाहेक प्रदूषण बढी हुने समय घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ।





























