आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै

Image
Nisarga Hospital

नेपालभर आज चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म यही दिन पुनर्वसु नक्षत्रमा भएको धार्मिक विश्वास छ। भगवान् विष्णुको सातौँ अवतारका रूपमा श्रीरामको जन्मसमयमा चन्द्रमा र वृहस्पति कर्कट लग्नमा रहेको दुर्लभ योग परेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

CP Hospital Dhangadhi

श्रीरामको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहने दुर्लभ पाँचग्रह योग परेको बताइन्छ। रामनवमी वासन्तीय नवरात्रको नवौँ दिन पर्छ, जुन दिनलाई शक्ति र मर्यादाको प्रतीक श्रीरामको आगमनका रूपमा मनाइन्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, रामनवमीको मूल सन्देश शासक, जनता र समाज सबै मर्यादित र अनुशासित बन्नुपर्छ भन्ने हो। “रामराज्य भन्नाले जहाँ जनता खुसी, शासक मर्यादित, र समाज सन्तुलित हुन्छ, आजको सन्दर्भमा पनि यही अपेक्षा छ,” उनले बताए।

nawajiwan

गाग्र्यतन्त्र कृष्णवचन अनुसार, चैत्र अष्टमीमा अष्टमातृकाको पूजा गरी नवमीका दिन श्रीरामको पूजा, जप, पाठ र ध्यान गर्दा मनोकाङ्क्षा पूरा हुने उल्लेख छ। ‘व्रतार्क’ ग्रन्थको अगस्त्य संहितामा रामनवमीका दिन व्रत बसी श्रीरामको पूजा गर्नाले जन्म-जन्मान्तरका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने बताइएको छ।

Attariya Hospital

यो अवसरमा जनकपुरस्थित रामजानकी मन्दिर लगायत देशभरका राममन्दिरहरूमा पूजा, भजन, रामायण वाचन तथा रामलीला नाटक आयोजना हुने गर्छ। नेपाल र भारतका श्रद्धालुहरूको ठूलो भीड जनकपुरधाममा देखिन्छ।

रामनवमीको दिन पवित्र नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर श्रीरामको उपासना गर्ने परम्परा छ। रामगीता, वाल्मीकीय, तुलसीदासीय र भानुभक्तीय रामायण वाचन, जप ध्यान, र रातभर भजनकीर्तन गर्ने चलन प्रचलित छ।

श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेर रावण जस्ता राक्षसी प्रवृत्तिको अन्त्य गरेका थिए। उनले पिताको आज्ञा पालन गर्दै १४ वर्षको वनवास स्वेच्छाले ग्रहण गरे, जसले उनलाई ‘मर्यादा पुरुषोत्तम’ को उपाधि दिलायो। यही कारणले पनि रामनवमी पर्वलाई सत्य, मर्यादा र धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ।

रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस पर्वलाई धार्मिक मात्र नभई सांस्कृतिक तथा नैतिक शिक्षा दिने विशेष दिनका रूपमा समेत लिइन्छ।