
कैलालीको गौरीगंगा नगरपालिका–६ मा कार्यालय रहेको बाह्रवन साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि आगामी वैशाख ११ गते निर्वाचन हुने भएको छ।

निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन वैशाख ११ गते गर्ने निर्णय गरेको हो। यसअघि चैत्र २१ गते सम्पन्न साधारण सभाबाट सहमतिमार्फत कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि उजिर सिंह कुँवरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

निर्वाचन कार्यक्रम गौरीगंगा नगरपालिका–६ वडा कार्यालय परिसरमा आयोजना हुने जनाइएको छ।बाह्रवन साझेदारी वनमा कैलालीका चार वटा पालिका—गौरीगंगा, गोदावरी, धनगढी र चुरे—अन्तर्गतका २१ वटा वडाबाट ४८ हजार ८४८ जना उपभोक्ता आबद्ध रहेका छन्।

निर्वाचनलाई व्यवस्थित र सफल बनाउन तयारी सुरु भइसकेको निर्वाचन समितिले जनाएको छ।





























