
अत्तरिया: गोदावरी नगरपालिका अत्तरियाको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ। हाम्रो इच्छा, घर घरमा शिक्षा भन्ने नाराका साथ विद्यालयको स्थापना भएको ५० वर्ष पूरा भई ५१ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा ३ दिन सम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयले भव्यताका साथ मनाएर समापन गरेको हो।

शुक्रबार विद्यालयको स्वर्ण महोत्सव गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा समापन गरिएको थियो।

नगर प्रमुख विरेन्द्र भट्टले विद्यालयको उत्कृष्टता र सामुदायिक शिक्षण संस्थाहरूको विकासमा नगरपालिकाको पूर्ण सहयोग रहने बताए।

उनले शिक्षालाई विकासको मूल आधार बताउँदै सामुदायिक विद्यालयहरूको गुणस्तर उन्नत बनाउन नगरपालिकाले निरन्तर पहल गर्दै आएको र यसलाई प्राथमिकतामा राख्ने बताए। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा थप लगानी गरी विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्य राखिएको समेत बताउनु भयो।
नगर प्रमुख भट्टले स्थानीय सरकारले प्राप्त अधिकारको सदुपयोग गरी न्यून बजेटमै शैक्षिक सुधार र भवन निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए। उनले शिक्षक समायोजन, नगर शिक्षकको मान्यता र विषयगत शिक्षकको व्यवस्थापनमा पारदर्शिता कायम गर्ने बताए।
उनले केही दिनअघि शिक्षक समायोजन गर्दा विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएको र कुनै पक्षपात नगरिएको जानकारी दिए। यसैगरी, शिक्षकहरूको सुव्यवस्थित व्यवस्थापन गरी दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा १४ जना नगर शिक्षक तैनाथ गरिएको समेत उनले उल्लेख गरे।
सामुदायिक प्राथमिक तहका विद्यालयहरूमा न्यूनतम ५ जना शिक्षक राख्ने व्यवस्था लागू गरिएको उनले बताए। साथै, “१ विद्यालय १ नर्स” को अवधारणा अन्तर्गत प्रारम्भमा प्रत्येक वडाको एक विद्यालयमा नर्स राखिएको र भविष्यमा यसलाई विस्तार गरिने योजना रहेको उनले सुनाए।

उद्घाटनको दिन प्रभात फेरि “र्याली” निकालिएको थियो। भने स्मारक अनावरण तथा स्मारिका विमोचन , सांस्कृतिक, सम्मान कार्यक्रम , रक्तदान कार्यक्रम साथै अक्षय कोष पुरस्कार वितरण गरिएको थियो।
दोस्रो दिन विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थी चर्चित गायक तथा मोडल चक्रबमको प्रस्तुति साथै “प्यानल डीस्कसन” विद्यालय शिक्षा परम्परागत देखी प्रविधि सम्म अवस्था बारे संवादको कार्यक्रम भएको जसमा सहजकर्ताको रूपमा शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका टेक राज अवस्थी रहने र शिक्षाविद डा. विधानाथ कोइराला, डा हेमराज पन्त , संस्थापक प्र अ कृष्णदत्त पनेरु वक्ताहरुको रुपमा रहनु भएको थियो।
यस्तै समापन अघि पूर्व विद्यार्थी मञ्चद्वारा हाफ म्याराथन दौड प्रतियोगिता गरिएको थियो। भने खेलकुद पुरस्कार वितरण, अतिथि कलाकारहरुको प्रस्तुति , संस्कृति भेषभुषा झल्काउने प्रतिभाहरु प्रस्तुत गरी सम्पन्न भएको थियो।
वि व्य समितिका अध्यक्ष शाहले सामुदायिक विद्यालयले पनि एक प्रकारको उत्कृष्ट कार्यक्रमको भव्य आयोजना गर्न सक्ने क्षमता रहेको जानकारी दिए।

उक्त स्वर्ण महोत्सव मार्फत विद्यालयमा रहेका विविध प्रतिभा, जनशक्ति र सकारात्मक पक्षहरूलाई प्रस्तुत गर्न विशेष ध्यान दिइएको बताए।

उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पनि देशको नेतृत्व गर्न सक्ने क्षमता राख्ने विश्वास व्यक्त गरे। “सामुदायिक विद्यालयको शिक्षालाई स्तरोन्नति गर्न सकिन्छ, र यदि समर्पण र दूरदृष्टि साथ अगाडि बढ्न सकियो भने, यस्ता विद्यालयहरू पनि उत्कृष्टताको नमूना बन्न सक्छन्,” जानकारी दिए।






































